कालिकाका ३२ जना युवालाई लोकसेवा तयारी कक्षा

केशव

असार ६, २०८२

share this:

रत्ननगर । कालिका नगरपालिकाका ३२ जना युवाहरुलाई लोकसेवा तयारी कक्षा दिइएको छ । खैरहनीस्थित लोकसेवा सारथि प्रालिको सहजीकरण कालिका नगरपालिकाले आयोजना गरेको ७० दिने लोकसेवा तयारी कक्षा बिहीबार समापन गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि मेयर विनोद रेग्मीले कालिकाबासी युवाहरुलाई सरकारी सेवा प्रवेशका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताए । कालिकाका युवाहरु निजामती सेवाको माथिल्ला पदहरुमा पुगेको हेर्ने आफूलाई रहर रहेको भन्दै त्यसको अवसरका लागि लोकसेवा तयारी कक्षा सहयोगी सिद्ध हुने बताए । वैदेशिक रोजगारीको मोहले गाउँ र बस्तीहरुमा युवाहरुको संख्या पातलिँदै गएको भन्दै मेयर रेग्मीले सरकारी जागिर खाएर देशको सेवामा लाग्न आग्रह गरे ।

उपमेयर विमला तामाङले नगरभित्रका युवाहरुलाई सरकारी सेवा अवसरका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको भन्दै परीक्षाको तयारी जिम्मेवार भएर गर्न आग्रह गरिन् ।

लोकसेवा सारथि प्रालिका सञ्चालक महेश घिमिरेले स्थानीय सरकारसँग सहकार्य गरी चितवनमा लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको बताए । २०७६ सालमा स्थापना भएको प्रालिले अहिलेसम्म लोकसेवा तयारी कक्षा दिएका १५ हजार युवामध्ये एक हजार २०० जना सरकारी सेवामा जागिरे रहेको उनले जानकारी दिए ।

८० प्रतिशत नगरपालिका र २० प्रतिशत प्रशिक्षार्थीको लगानीमा गरिएको तयारी कक्षामा सुकदेव लम्साल, ऋषिप्रसाद कडुवाल, झलककुमार श्रेष्ठ, अर्जुन लामिछाने, सविता अर्याल, तीर्थराज खनाल, सुवास कुँवर, रमेश अधिकारी, विष्णु अधिकारीले प्रशिक्षार्थीहरुलाई पढाएका थिए ।

महिला विकास अधिकृत सम्झना ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीको तर्फबाट सुन्तलीमाया स्याङ्तान, सेवक अधिकारी र रमा पौडेलले मन्तव्य राखेका थिए ।