ठोरी त्रिदेशीय नाकाको रुपमा स्थापित भएको छ : प्रमुख दाहाल

केशव

जेष्ठ २६, २०८१

share this:

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको बताएकी छन् । शनिबार ठोरीमा भएको नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रममा उनले नेपाल–भारत र चीन जोड्ने छोटो दूरीको नाकाको रुपमा स्थापित भएको उल्लेख गरिन् ।

ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टिकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताको लागि दुई महिनाअघि सञ्चालनमा ल्याइएको प्रमुख दाहालले बताइन् । ‘ठोरी भन्सारलगायत देशका अन्य नाकालाई स्तरोन्नति गर्ने संघीय सरकारले नीति लिएको छ’, उनले भनिन्,‘ठोरी छोटी भन्सारको पनि सम्भाव्यता अध्ययन हुनेछ । ठोरी भन्सारको थप स्तरोन्नति गर्न आवश्यक छ । यसका लागि निरन्तर पहल गर्नेछु ।’

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दुई महिनाको बीचमा दुईपटक ठोरी आउन पाउँदा खुसी लागेको प्रमुख दाहालले बताइन् । भरतपुरबाट ठोरीसम्म आउँदा जंगलको सडक कष्टपूर्ण र जोखिम रहेकाले सडकको स्तरोन्नति गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उनले बताइन् ।

माडी नगरपालिकासँग भरतपुरको भगिनी सम्बन्ध रहेकाले ठोरी–माडी खण्डको १७ किलोमिटर सडकलाई स्तरोन्नति गर्न तीन पालिकाको संयुक्त बजेटमा निर्माण गर्न सकिने उनको भनाइ छ ।

यो सडकको स्तरोन्नतिका लागि सडक डिभिजन, प्रदेश सरकारसँग बजेटको माग गरिने प्रमुख दाहालले बताइन् । माडी बगईदेखि ठोरीसम्मको सडक जोखिमयुक्त छ । विशेष गरी यो सडक भएर हिँड्दा हात्ती, गैँडा, बाघसँग मुठभेड हुने गरेको छ ।

प्रमुख दाहालले भारतबाट ठोरी–माडी हुँदै भरतपुर सहजरुपमा हिँड्न मिल्नेगरी सडक निर्माणका लागि ठोरी गाँउपालिका, माडी नगरपालिका र भरतपुर महानगरबीच छलफल गरिने पनि स्पष्ट पारिन् । नेपाल आउने सबैभन्दा धेरै विदेशी पर्यटक भारत, चीन हुँदै अन्य तेस्रो मुलकबाट रहने भएकाले भारतीय पर्यटकलाई मध्यनगर गरी सहज आवगमनको वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भरतपुर भ्रमण वर्ष सफल बनाउन सक्दो पहल गर्ने बताए । नेपाल र भारतबीच परापूर्वकालदेखि निकटको सम्बन्ध रहेकाले सम्बन्धलाई थप प्रगाढ र सुमधूर बनाउन यस्ता अभियानहरुले सहयोग पुग्ने उनले उल्लेख गरे ।

उनले अहिले भारतबाट ठूलो संख्यामा भारतीय पर्यटक नेपाल जाने गरेको र भ्रमण वर्षलाई सफल बनाउन विभिन्न सरोकारवाला पक्षसँग छलफल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेम महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मीको उपस्थिति रहेको थियो ।

भरतपुरको पर्यटकीय गन्तव्यको बारेमा भरतपुर महानगरका पर्यटनविज्ञ विश्वराज सुवेदीले प्रस्तुतीकरण गरेका थिए ।