चितवनमा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व संकलन

केशव

साउन १७, २०८१

share this:

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयलाई विभागले रु २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात रु २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व संकलन भएको हो ।

कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व संकलन हुने गरेको थियो । विभागले लक्ष्य बढाउने तर राजस्व संकलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए ।

उनका अनुसार गत आवमा आयकरतर्फ लक्ष्यको ८८ प्रतिशतमात्र राजस्व संकलन भएको छ । आयकरका लागि विभागले रु दुई अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेको थियो । कार्यालयले रु दुई अर्ब ६३ करोड १६ लाख राजस्व संकलन गरेको छ । यस्तै, मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । विभागले रु दुई अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा रु एक अर्ब ९५ करोड २२ लाख संकलन भएको प्रमुख भट्टराईले जानकारी दिए ।

कार्यालयका अनुसार अन्तःशुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व संकलन भएको छ । विभागले रु २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले रु १५ अर्ब ९८ करोड ८२ लाख संकलन गरेको हो । बहाल करतर्फ ६६ प्रतिशत प्रगति भएको छ । रु ६० करोड पाँच लाख लक्ष्य दिइएकोमा रु ४० करोड ३४ लाख राजस्व संकलन भएको भट्टराईले बताए ।

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दीका कारण अन्तः शुल्कमा वृद्धि हुन नसक्दा लक्ष्य प्राप्तिमा कठिनाइँ भएको हो । उनले भने, “लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि संकलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइँ भएको हो ।” बजारमा पैसा नआउनु र जनताको क्रयशक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उनको भनाइ छ । देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उनको अनुमान छ ।

उनले भने, “घरजग्गा कारोबार कम हुँदा पनि राजस्व संकलनमा कमी आएको हो ।” कार्यालयमा गत आवमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने एक लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार नौ सय १९ जना रहेका छन् ।