भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू
चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरू भएको छ ।
प्रतियोगिताको एक कार्यक्रमबीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संयुक्त रूपमा उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को अर्को संस्करण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने उल्लेख गरे । यसका लागि रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिन सबै जना अघि बढ्नुपर्ने धारणा राखे ।
नेपाली क्रिकेटलाई नजिकबाट माया गरिदिएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाललाई विशेष धन्यवाद व्यक्त गरे ।
विद्यालयस्तर क्रिकेट लिगमा ४७ वटा टिमले सहभागिता जनाउनु निकै सकारात्मक भएको उनको भनाइ थियो । नेपाली क्रिकेटको भाग्य भविष्य यस्तै घरेलु ग्रासहुड प्रतियोगिताले निर्धारण गर्ने भएकाले भरतपुर मेयर्स कप क्रिकेट लिगले खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सचिव खड्काले बताए ।
महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न मेर्यस कप फटबल, उपमेयर कप भलिबललगायत विभिन्न खेलहरु महानगरले आयोजना गर्दै आइरहेको स्मरण गरिन् । महानगरपालिकाले यस्ता खेल गतिविधिलाई निरन्तररूपमा अघि बढाउने उनको भनाइ थियो ।
प्रमुख दाहालले अलपत्र रहेको रङ्गशाला सबैको साथ र सहयोगका कारण निर्माण कार्य तीव रूपमा अघि बढ्नु खुसीको विषय भएको उल्लेख गरिन् ।
उनले यही नमुना खेल मैदानमा खेल खेली, छनोट भई जनवरी १८ देखि हुने यू १९ महिला विश्वकप क्रिकेट छनोट भएका टोलीलाई प्रति खेलाडी रु ५० हाजर दिने घोषणासमेत गरिन् ।
भरतपुर महानगरको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा लिग प्रतियोगिता हुनेछ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयबीच प्रतिस्पर्धा हुँदैछ । फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगितामा कुल ६१ खेल हुनेछ ।
पहिलो चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच छुट्टाछुट्टै छनोट खेल हुनेछ । त्यसबाट छनोट भएका टिमहरुबीच रातो बल अर्थात् दुई दिवसीय प्रतियोगिता हुनेछ ।
पहिलो चरणको लागि गरिएको ड्र बाट लिटिल फ्लवार स्कुल सीधै दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तै, पहिलो संस्करणको सेमिफाइनलमा पुगेका चार टिम पनि सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको सह–आयोजकमा चितवन जिल्ला क्रिकेट संघ, भरतपुर महानगर क्रिकेट संघ, चितवन राइनोज रहेका छन् ।