ऐन संशोधन गरेरै भए पनि सुकुमबासीलाई लालपुर्जा दिलाउँछौँ : अध्यक्ष रिजाल
चितवन । भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि रिजालले अब सुकुमबासीलाई जग्गा जसरी पनि दिने गरी तयारी गरिएको बताएका छन् ।
नेकपा (एमाले) चितवनको पार्टी कार्यालयमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘समस्या थुप्रै छन् तर जहाँ जे समस्या आउँछ त्यसलाई त्यहीँ समाधान गर्दै जान्छौँ, उनले भने । यसअघिका आयोगले जहाँसम्म काम गरेका छन्, त्यहीँबाट कामलाई निरन्तरता दिने उनले बताए । अब जिल्लामा पनि आयोग गठन गरेर काम थालिहाल्ने तयारीमा रहेको अध्यक्ष रिजालले बताए ।
कानुन नै संशोधन गर्नुपर्ने जटिलताबाहेकका अरु सबै जग्गामा लालपुर्जा प्रदान गरिने उनको भनाइ छ । ऐन परिवर्तन, नियमावली परिवर्तन गर्नुपर्ने समस्याहरु पनि रहेको बताउँदै उनले यी समस्याले रोक्नेबाहेकका अरु जग्गामा लालपुर्जा बाँड्ने गरी तयारी थालिहाल्ने बताएका हुन् ।
आयोगले समस्या समाधान गर्न सक्ने जति आयोगबाटै गर्ने बताउँदै उनले आयोगले नसके मन्त्रिपरिषद् र मन्त्रिपरिषद्ले पनि नसक्ने खालको समस्या भए संसदलाई भनेर भए पनि समस्या समाधान गरिने बताए । देशका ठूला राजनीतिक दल मिलेर सरकार चलाइरहेको बेला पनि जनताले लालपुर्जा पाउन नसके जनतामा राजनैतिक दलप्रतिको विश्वास झनै गुम्ने खतरा रहेको उनले औँल्याए । लालपुर्जा प्रदान गर्न ऐन नै संशोधन गर्न पनि दलहरु तयार हुनुपर्ने उनको भनाइ थियो ।
वडाध्यक्षहरुको भूमिका सबैभन्दा बढी जिम्मेवार रहेको बताउँदै अध्यक्ष रिजालले सुकुमबासीको पहिचानमा वडाध्यक्षले निकै चनाखो भएर लाग्नुपर्ने बताए । गलत गरेमा वडाध्यक्षलाई कैद सजायसम्म हुन सक्ने व्यवस्था रहेकोतर्फ सचेत गराउँदै अध्यक्ष रिजालले वडाध्यक्षहरुले राम्रोसँग साथ दिएमा लालपुर्जा वितरणको काम अझै तीव्ररुपमा हुने बताए ।
कार्यक्रममा वक्ताहरुले भूमिसम्बन्धी आफ्ना स्थानका समस्याहरु सुनाएका थिए । विशेषगरी वन क्षेत्रको जग्गामा रहेका सुकुमबासीको समस्या समाधान गर्न निकै जटिल रहेको वक्ताहरुले बताएका थिए ।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य गुञ्ज खड्का, विज्ञ सदस्य जगत बस्नेत र नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकलगायतले बोलेका थिए ।