सिद्धिविनायक माविमा श्रेष्ठले अक्षयकोष स्थापना गर्ने
चितवन । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य सूर्यप्रसाद श्रेष्ठले भरतपुर–११, बसेनीस्थित सिद्धि विनायक माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् ।
भरतपुर–११, वाइपासरोडमा रहेको एस. एण्ड पि. अडिटिङ कम्पनीका सञ्चालकसमेत रहेका श्रेष्ठले अक्षयकोषबाट प्राप्त व्याज रकम आदिवासी जनजाति समुदायका बालबालिकालाई निःशुल्क शिक्षाका लागि खर्च गर्ने र प्लस टु का उत्कृष्ट एक छात्र र एक छात्रालाई पुरस्कृत गरिने जानकारी दिए ।
समाजसेवी श्रेष्ठले यसअघि विभिन्न स्कुलहरुलाई शिक्षा सामग्री, न्यानो कपडा र विभिन्न संघसंगठनहरुलाई सहयोग गर्दै आएका छन् । उनले आफ्नो आम्दानीको २५ प्रतिशत रकम समाजसेवामा लगाउँदै आएको बताएका छन् ।
कार्यक्रममा एस. एण्ड पी. अडिटिङ कम्पनीमा विभिन्न करसम्बन्धी, कम्पनी दर्ता, खारेजी, अद्यावधिक, पान नम्बरलगायत कार्य हुने बताउँदै जनजातिको संघसंस्थालाई विशेष छूट दिने व्यवस्थासमेत भएको उनले जानकारी दिए ।