चितवन महोत्सवमा शिक्षा गोष्ठी : कलेजभन्दा कन्सल्टेन्सी बढी भएकोप्रति चिन्ता व्यक्त

केशव

माघ ६, २०८१

share this:

चितवन । चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा निजी लगानी स् वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ ।

उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा निजी लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ ।

वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको कुरामा गोष्ठी बढी केन्द्रित बन्यो । गोष्ठीमा सहभागी शिक्षाविदहरुले कलेजभन्दा कन्सल्टेन्सीको संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

गोष्ठीमा विभिन्न क्षेत्रका शिक्षा विद, विद्यालय र क्याम्पसका शिक्षक तथा प्राध्यापक, विद्यार्थी नेता र उद्योग वाणिज्य संघका नेतृत्वहरुको सहभागीता रहेको थियो । गोष्ठीमा प्रुमख अतिथिका रुपमा शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको उपस्थिति रहेको थियो ।

गोष्ठीमा सहभागी वक्ताहरुले चितवनको शिक्षामा नीजि लगानी बढ्दै गएको बताएका छन् । चितवनमा कृषि, पर्यटन, आइटी, हस्पिटालिटी, मेडिकल शिक्षा लगायतको क्षेत्रमा प्रचुर अवसर रहेको कुरा सहभागीहरुले बताएका छन् । विविध क्षेत्रमा अवसर भए पनि विद्यार्थीको बढ्दो वैदेशिक पलायन नै अहिलेको प्रमुख चुनौती बनेको गोष्ठीमा सहभागीहरुले बताए ।

पछिल्लो समय ब्याचलर तहमा विद्यार्थी पाउन गाह्रो, अस्वस्थ प्रतिस्पर्धा, दक्ष शिक्षक पाउन मुस्किल, शिक्षा प्रणालीमा समस्या लगायतका विविध समस्याहरु रहेको वक्ताहरुले औंल्याएका छन् ।

त्यसैगरी सरकारले ८ कक्षासम्म निःशुल्क शिक्षा भनेकाले विद्यालय तहमा नीजि लगानी चुनौतीपूर्ण हुँदै जानेतर्फ पनि शिक्षा विदहरुले सुझाव दिएका छन् । शिक्षामा नीजि लगानी आवश्यक रहेको भए पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा आलोचना खेपिरहनु परेको सहभागीहरुले बताएका छन् ।

विदेशी विद्यार्थी ल्याउने अवसर समेत नेपालमा रहेको कुरामा जोड दिँदै सहभागीहरुले कस्तो शिक्षामा लगानी गरियो भने यहाँ विद्यार्थी टिकाउन सकिन्छ र बाहिरबाट समेत विद्यार्थी ल्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव राखे । चीन र भारतका विद्यार्थीलाई कसरी नेपालमा ल्याएर पढाउन सकिन्छ भन्नेतर्फ सोचेर लगानी गर्नुपर्ने कुरा समेत गोष्ठीमा उठेको छ ।

विद्यालयहरु यो धनीले पढ्ने र यो गरिबले पढ्ने भनी जुन भाष्य समाजमा निर्माण भएको छ यसलाई हटाउन आवश्यक रहेको कुरासमेत गोष्ठीमा उठेको छ ।