झुवानी माविका विपन्न विद्यार्थीलाई सहयोग

केशव

माघ ६, २०८१

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–५ स्थित झुवानी माविका दृष्टिविहीनसहित विपन्न परिवारका विद्यार्थीहरुलाई आइतबार शैक्षिक सहयोग गरिएको छ । चितवन समाज युकेले सो विद्यालयमा सात जना दृष्टिविहीनसहित १११ जना विद्यार्थीहरुलाई पोसाक तथा झोला प्रदान गरेको हो ।

चितवन समाज युकेका पूर्वकोषाध्यक्ष तथा चितवन समाज लन्डनका संयोजक झलक सुवेदीको पहलमा १ लाख ३० हजारबराबरको स्कुल पोसाक र झोला वितरण गरिएको हो ।

विद्यालयमा आयोजिक एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष बालकृष्ण चापागाईं, विद्यालयका अध्यक्ष कृष्णप्रसाद खतिवडा र चितवन समाज लन्डनका संयोजक झलक सुवेदीले विद्यार्थीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । जाडोमा लगाउन स्वेटर र किताब बोक्ने झोला पाएपछि विद्यार्थीहरु खुसी भएका छन् ।

चितवन समाज लन्डनका संयोजक सुवेदीले चितवन समाज युकेका अध्यक्ष खेम शर्मा, संस्थापक अध्यक्ष शान्तविनोद लामिछाने र पूर्वअध्यक्ष शालिक सापकोटाको सक्रियतामा युकेमा रहेका नेपालीहरुबाट सङ्कलित रकम विपन्न विद्यार्थीहरुको शिक्षाका लागि प्रदान गरिएको बताए ।

न्यानो कपडा किन्न नसकेर जाडोमा कठ्याङ्ग्रिएर विद्यालय आउने बालबालिकाको पहिचान गरी स्वेटर र झोला प्रदान गरिएको उनले बताए । प्रवासमा रहेका नेपालीको हितका लागि स्थापना गरिएको संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न समुदायका बालबालिकाको शिक्षाका लागि सहयोग गरिएको सुवेदीको भनाइ छ । चितवन समाज युकेले नेपालमा यसअघि भूकम्पपीडित र विपन्न समुदायको उपचारमा सहयोग गरेको स्मरण गरे ।

वडाध्यक्ष चापागाईंले चितवन समाज युकेले झुवानी माविका बालबालिकालाई गरेको लगानी अर्थपूर्ण रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खतिवडाले जाडो महिनामा न्यानो कपडा र किताब बोक्ने झोला सहयोग गरेर चितवन समाज युकेले उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिए ।

विद्यालयका प्रधानाध्यापक नवीनचन्द्र शर्माले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षण सिकाइमा प्रविधिको प्रगोगमा जोड दिएको भन्दै चितवन समाज युकेले विपन्न विद्यार्थीका लागि गरेको सहयोगले बालबालिकाको शिक्षामा ठूलो राहत मिलेको बताए ।