रत्ननगरमा वृत्ति मार्गनिर्देशन सेवा इकाइको उद्घाटन

केशव

जेष्ठ ३०, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिकामा वृत्ति मार्गनिर्देशन सेवा इकाइको उद्घाटन गरिएको छ । यो सेवा इकाइको थालनीले स्थानीय युवा र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणमा मार्गनिर्देश गर्ने लक्ष्य राखेको नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले जानकारी दिए ।

रत्ननगर नगरपालिकाका नगर उपप्रमुख यादवप्रसाद पाठकको अध्यक्षता एवम् नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले स्वागत मन्तव्यसहित सेवा इकाइले प्रदान गर्ने सेवाहरूको बारेमा विस्तृत प्रस्तुतिकरण दिएका थिए ।

इन्स्योर परियोजनाका बागमती प्रदेश प्रबन्धक निर्मला मैनालीले वृत्ति मार्गनिर्देशन सेवा इकाइले रत्ननगरका विद्यार्थी, युवा, अभिभावक र समुदायलाई लक्षितगरी विविध र उपयोगी सेवाहरू प्रदान गर्ने उद्देश्य लिएको बताइन् । उनले सो इकाइले विशेषगरी युवाहरूलाई उनीहरूको रुचि, क्षमता र सम्भावनाअनुसार उपयुक्त शैक्षिक र व्यावसायिक बाटो छनोट गर्न सहयोग पुर्‍याउने र यसले विद्यार्थी र युवाहरूलाई व्यक्तिगत र समूहगत परामर्श सेवामार्फत उनीहरूको भविष्यको योजना बनाउन स्पष्ट दिशानिर्देश प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।

साथै, अभिभावकहरूलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई आफ्ना सन्तानको करियर छनोटमा सहयोगी भूमिका खेल्न प्रेरित गरिने पनि उनको भनाइ छ ।

यस इकाइको एक महत्त्वपूर्ण विशेषता भनेको मनोवैज्ञानिक परीक्षण र अनलाइन परामर्श सेवाको व्यवस्था हो । मनोवैज्ञानिक परीक्षणले विद्यार्थीहरूको रुचि, व्यक्तित्व र क्षमता पहिचान गरी उनीहरूलाई उपयुक्त पेसा वा शैक्षिक क्षेत्र सुझाव दिनेछ। त्यस्तै, अनलाइन परामर्श सेवाले भौगोलिक र समयको सीमालाई तोड्दै युवाहरूलाई सहजरूपमा परामर्श प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। यो सुविधाले विशेषगरी ग्रामीण क्षेत्रका युवाहरूलाई पनि सेवा पहुँचमा ल्याउने अपेक्षा गरिएको छ ।

वृत्ति मार्गनिर्देशन सेवा इकाइले वृत्ति, सीप, रोजगारी र जीवनपर्यन्त सिकाइसँग सम्बन्धित सूचनामूलक सामग्रीको उत्पादन, प्रकाशन, प्रवोधीकरण र वितरणमा जोड दिने छ । यस्ता सामग्रीहरूले युवाहरूलाई बजारमा उपलब्ध अवसरहरू, आवश्यक सीप र तालिमका बारेमा जानकारी प्रदान गर्ने छ । रोजगार शाखासँगको समन्वयमा यो इकाइले कामको खोजीमा रहेका युवा, विद्यार्थी र कामदारहरूको तथ्यांक संकलन, तालिकीकरण र विश्लेषण गर्ने कार्य गर्नेछ। यसले स्थानीयस्तरमा रोजगारीको अवस्था र आवश्यकताको यथार्थ चित्रण गर्न सहयोग पुर्‍याउने छ।

शिक्षा र तालिमको क्षेत्रमा पनि यो इकाइले महत्त्वपूर्ण भूमिका खेल्ने छ । साधारण, प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिमसम्बन्धी सूचनाहरू प्रदान गरी विद्यार्थी र युवाहरूलाई उनीहरूको रुचि र आवश्यकताअनुसार उपयुक्त कार्यक्रममा पहुँच पुर्‍याइने छ । रोजगार सेवाकेन्द्र, विद्यालय र सीप विकास इकाइसँग एकीकृतरूपमा काम गरी यी सेवाहरूलाई थप प्रभावकारी बनाउने योजना छ।

यो इकाइले व्यावहारिक सहयोगका लागि पनि विभिन्न सेवाहरू उपलब्ध गराउने छ । व्यक्तिगत विवरण तयार गर्ने, अन्तर्वार्ताको तयारी गर्ने र योग्यता जाँचबुझसम्बन्धी सहयोगले युवाहरूलाई रोजगारीको अवसर प्राप्त गर्न थप आत्मविश्वास र तयारी प्रदान गर्नेछ। साथै, पारस्परिक सिकाइ र अनुभव आदानप्रदानका लागि अवसरहरू सिर्जना गरिने छ, जसले युवाहरूलाई एकअर्काबाट सिक्ने र प्रेरणा लिने मौका दिने छ।

स्थानीय सरकारी र गैरसरकारी संस्थाहरूसँगको समन्वयमा पालिकास्तरमा वृत्ति मार्गनिर्देशनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी यो सेवालाई थप व्यापक र समावेशी बनाइने नग शिक्षा अधिकारी वाग्लेले प्रस्तुतिकरणमार्फत जानकारी गराएका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, वृत्तिमार्ग निर्देशन सहजकर्ता शिक्षकहरु, नगरशिक्षा समितिका पदाधिकारीसहित सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत रविना देउजाले गरेकी थिइन् ।