पिएफसी इमर्जिङ कप : पारिजात बोर्डिङ स्कुल र अमर मावि सेमिफाइनलमा

केशव

माघ ८, २०८१

share this:

भरतपुर । तेस्रो संस्करणको पिएफसी इमर्जिङ कप–२०८१ मा पारिजात इङ्लिस बोर्डिङ स्कुल र अमर मावि सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न खेलमा आदिकवि भानुभक्त माविलाई ३–० को जीत निकाल्दै पारिजात इङ्लिस बोर्डिङ स्कुल र नारायणी पब्लिक स्कुललाई २–० को जीत निकाल्दै अमर मावि सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

परिजातको जीतका लागि एन्जल ढकालले २ र विष्णु अधिकारीले १ गोल गरेका थिए । यता अमर मावि समीर मियाँ र पुकार महतोले १/१ गोल गरेको कार्यक्रम संयोजक सुमन सापकोटाले जानकारी दिए । खेलको म्यान आफ द म्याच एन्जल ढकाल र समीर मियाँ भएका थिए ।

बुधबार पहिलो खेल दिउँसो १ः०० बजे अरूणोदय मावि र नारायणी नमुना माविबीच हुनेछ भने दोस्रो खेल ३ बजे स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल र सोमेश्वर माविबीच दोस्रो खेल हुने सापकोटाले बताए ।

शिक्षासँग खेलकुद जोड्ने उद्देश्यका साथ नयाँ खेलाडीहरूको पहिचान गर्न पिएफसी इमर्जिङ कप आयोजना हुँदै आएको छ । पटिहानी फुटबल क्लबको आयोजनामा सुरू भएको यो प्रतियोगितामा यसपटक चितवनका १६ विद्यालयहरू सहभागी थिए । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गतेसम्म हुने छ ।

प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् । यस्तै, उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँबराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाणपत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।

पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ ।

यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यसअघिका इमर्जिङ कपका संस्करणहरू निकै उपलब्धिमूलक भएकाले यसको निरन्तरता गरिएको क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाले जानकारी दिए । यो प्रतियोगिताको प्रवद्र्धकका रूपमा भरतपुर महानगरपालिका वडा नं–१४ र २२ रहेका छन् ।