चितवन बारमा फूलमाया रानाभाट निर्वाचित

चितवन । कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित भएकी छन् । २३ औँ अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित भएकी हुन् ।
चितवन बारको इतिहासमा महिला अध्यक्ष भएको यो पहिलोपटक हो । चितवन बारमा दुई प्यानल निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । रानाभाटले ८१ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी सिलवालले ७८ मत प्राप्त गरेका थिए । यसैगरी, एसोसिएसनको उपाध्यक्षमा सीताराम अधिकारी निर्वाचित भएका छन् । अधिकारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी सरिता सापकोटालाई पराजित गरेका हुन् ।
अधिकारीले ९१ मत ल्याउँदा सापकोटाले ६६ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, एसोसिएसनको सचिवमा कुलचन्द्र खनाल विजयी भएका छन् । खनालका निकटतम प्रतिद्वन्द्वी बलराम पौडेल पराजित भएका छन् । खनालले ८९ मत ल्याउँदा पौडेलले ७० मत प्राप्त गरेका थिए । यस्तै, एसोसिएसनको सहसचिवमा पवित्रा सुवेदी निर्विरोध निर्वाचित भएकी छन् ।
यसैगरी, एसोसिएसनको कोषाध्यक्षमा दीपकराज तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाका निकटतम प्रतिद्वन्द्वी सपि मिया पराजित भएका छन् । तिमिल्सिनाले ८१ मत ल्याउँदा मियाले ७५ मत प्राप्त गरेका थिए । यसैगरी, एसोसिएसनको खुल्ला सदस्यहरुमा शेखरनाथ पोखरेल (७५), किरण गुरुङ (८४), सुरेन्द्रराज सुवेदी (७६), शम्भु बर्तौला (७७), राजकुमार प्याकुरेल (८१), अजयकुमार तामाङ (८१) र केदारराज पन्त (७६) विजयी भएका छन् ।
यस्तै, एसोसिएसनको केन्द्रीय पार्षदमा राजेन्द्र सिलवाल (९४), श्रीराम दवाडी (८८), मुन्नाविक्रम खाती (९७), पूर्णचन्द्र चापागाईं (८२), दिवाकर अर्याल (८२), गोमा न्यौपाने (८१) र रमेश काफ्ले (८४) विजयी भएका छन् ।