एनएसजिएफको छैटौँ राष्ट्रिय सम्मेलन सौराहामा सम्पन्न

रत्ननगर । नेपाल स्काउट एन्ड गाइड फेलोसिप (एनएसजिएफ)को छैटौँ राष्ट्रिय सम्मेलन बिहीबार चितवनको सौराहामा सम्पन्न भएको छ ।
नेपाल स्काउट एन्ड गाइड फेलोसिपका केन्द्रीय सभापति श्रीराम लामिछानेको सभापतित्व एवम् विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा देशभरका २४ जिल्लाका १५० प्रतिनिधिको सहभागिता रहेको थियो ।
एनएसजिएफका सभापति श्रीराम लामिछानेले असल मान्छे बनाउन असल बाटो सिकाउनुपर्नेमा जोड दिए । नेपाल स्काउट गैरराजनीतिक संस्था भएकाले यस संस्थालाई राजनीतिबाट टाढा राख्न सबैसँग आग्रह गरे ।
कार्यक्रमका प्रमुखअतिथि डा. न्यौपानेले स्काउटमा असल बन्न नसके पनि असल बन्ने बाटो सिकाउनुपर्ने स्काउटको मान्यता रहेको बताउँदै उनले बालबालिकाको मानसिकतामा असल शिक्षा दिलाउन सक्नुपर्ने बताए । नेपाल स्काउटमा पाँच दशक बढी योगदान दिएका उपसभापति तीर्थराज न्यौपानेको उदाहरण दिँदै स्काउट शिक्षासँगै उनले समाजमा पारेको सकारात्मक योगदानको प्रशंसा गरे ।
सम्मेलनमा सहभागीहरुले नेपाल स्काउटसँग सहकार्य गर्दै हालको परिस्थितिअनुसार अगाडि बढ्नुपर्ने सुझाव दिएको एनएसजिएफका उपसभापति तीर्थराज न्यौपानेले जानकारी दिए । उनका अनुसार जाजरकोटका भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने सदस्य राजुराज सिंहको प्रस्ताव सम्मेलनले अनुमोदन गरेको छ ।
अन्तर्राष्ट्रिय सचिव बैकुण्ठ मरहठ्ठाले सञ्चालन तथा झापाका शिवकुमार पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र रञ्जीत, नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त रवीन दाहाल, पूर्वप्रमुख संयोजक चन्दन कौशिक, इन्दु तिवारी, सुर्खेतका पार्वती गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
छैटौँ राष्ट्रिय सम्मेलनमा संस्थाका कोषाध्यक्ष बाबुकाजी डँगोलले आर्थिक प्रतिवेदन, सचिव हरिबहादुर श्रेष्ठले वार्षिक प्रतिवेदन तथा कार्ययोजना प्रस्तुत गरेको सहसचिव दिनेश पाण्डेले जानकारी दिए ।
अन्तर्राष्ट्रिय स्काउटको नीति तथा कार्यक्रमहरुलाई अंगिकार गर्दै नेपालको स्काउटिङ विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापित शैक्षिक तथा सेवामूलक सामाजिक संस्था एनएफजिएफ नेपाल स्काउटसँग सहकार्य गर्दै स्काउटिङका गतिविधि सञ्चालन गर्ने गैरराजनीतिक संस्था हो ।