एकीकृत समाजवादीका नेतासहित सयौँ जना माओवादीमा प्रवेश

चितवन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता तथा जिल्लास्तरका नेताहरुले पार्टी परित्याग गरेका छन् । उनीहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।
समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्ववडाध्यक्ष अरूण पीडित भण्डारी शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का हातबाट टीका र खादा लगाएर पार्टी प्रवेश गरेका हुन् । उनी भरतपुर महानगरपालिका वडा नं–१० का पूर्ववडाध्यक्ष हुन् ।
यस्तै, एकीकृत समाजवादीका अर्का केन्द्रीय नेता कृष्णराज न्यौपाने ‘लभ्ली’ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । भरतपुर–७ स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा भण्डारी र लभ्लीले आफ्नो पुरानो घर फर्केको बताए ।
‘एकीकृत समाजवादी गठन गर्ने बेला नै माओवादी केन्द्रमा एकीकरण गर्ने भनिएको थियो, लामो समयसम्म एकीकरण हुन सकेन’, लभ्लीले भने, ‘माओवादी केन्द्रको नीति र नेतृत्वलाई थप ऊर्जा प्रदान गर्न, न्यायपूर्ण आन्दोलनको मूल प्रवाहमा जुट्न माओवादी केन्द्रमा प्रवेश गरेका हौँ ।’
त्यस्तै, एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ठ, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर रानामगर, विष्णु लामिछाने, बलराम पीडित, सुदन दराईलगायत विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यस्तै, नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेता तथा कार्यकर्ता पनि माओवादीमा प्रवेश गरेका थिए ।