इच्छाकामना–२ मा हाडजोर्नीका बिरामीको निःशुल्क उपचार

केशव

माघ २०, २०८१

share this:

भरतपुर । नेपाल अर्थोपेडिक एसोसिएसन चितवन च्याप्टरले इच्छाकामना गाउँपालिकामा हाडजोर्नीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

इच्छाकामना–२, ओल्र्याङमा ६ जना वरिष्ठ विशेषज्ञ डाक्टरहरुले हाडजोर्नी तथा नसासम्बन्धी बिरामीहरुको स्वास्थ्य जाँच गरेका हुन् । शिविरमा ४० जनाभन्दा बढी बिरामीलाई सेवा दिइएको एसोसिएसनका अध्यक्ष डा.अर्जुन श्रेष्ठले जानकारी दिए । हाडजोर्नी खिइएका, ढाड खिइएका, काम गर्नेक्रममा चोट पटक लागेर पैसाको अभावमा उपचार नगरी बस्दा बिग्रिएका बिरामीहरुको उपचार गरिएको उनले बताए ।

एसोसिएसनका सचिव डा.प्रमोद लामिछानेले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले संस्थाले पहिलोपटक विकट क्षेत्रमा पुगेर शिविर आयोजना गरेको जानकारी दिए ।

‘विकट क्षेत्रका विपन्न नागरिकले अतिआवश्यक अवस्थामा पनि विशेषज्ञ सेवा नपाएको, घरेलु उपचार गरेर बस्ने गरेका कारण हामीले सम्बन्धित क्षेत्रमै पुगेर सेवा दिएका हौँ’, लामिछानेले भने, ‘शिविरमा निकै पुराना र बिग्रिएको अवस्थाका बिरामीहरु पनि आउनुभयो । हामीले उपचार गरेर आवश्यक औषधि उपलब्ध गराएका छौँ ।’ शिविरमा ६ देखि ७० वर्षसम्मका बिरामीहरुको उपचार गरिएको उनले बताए ।

हाडजोर्नी तथा नसा रोग विशेषज्ञहरु डा.श्रेष्ठ, डा.लामिछाने, डा.शंकर ढकाल, डा.मनोज कँडेल, डा.दीपेन्द्र सुवेदी र डा.आनन्द कार्कीले बिरामीहरुको उपचार गरेका थिए ।