नेपाली सेनाको गोली लागेर मकुनाको मृत्यु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रमा आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती मकुनाको मृत्यु भएको छ ।
मानवबस्तीमा निस्किएको बेला निकुञ्जतर्फ धपाउने क्रममा सुरक्षार्थ खटिएका सेनाको गोली लागेर हात्तीको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए ।
‘यो हात्ती केही समययता मानवबस्ती वरपर निस्किएर दुःख दिइरहेको थियो, सधैँ यसलाई हात्ती लगाएर जङ्गलतर्फ खेदी रहन्थ्यौँ । यसपटक यसरी नै जङ्गल पठाउन लाग्दा एक्कासि सेना चढेको हात्तीलाई नै आक्रमण गरेको र त्यहाँ रहेका सुरक्षाकर्मी नै असुरक्षित हुने अवस्था भएपछि आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जङ्गली हात्ती मकुनाको मृत्यु भएको हो’, प्रमुख संरक्षण अधिकृत डा. पन्तले भने ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउँसो गोली लागेर हात्तीको मृत्यु भएको हो । निकुञ्जका अनुसार गत असोजदेखि मकुना मानवबस्तीमा पसेर स्थानीयलाई आतङ्कित बनाउँदै आएको थियो । पटकपटक मकुनालाई बस्तीमा पसेको बेला निकुञ्जका हात्तीको सहयोगमा लखेटेर जङ्गल पठाउँदै आइएको थियो ।
बुधबार दिउँसो मानवबस्ती प्रवेश गर्न लागेको सूचना पाएपछि लखेटेर कोर क्षेत्रमा पठाउन गएको नयाँ गोरख गण (क) गुल्म सौराहाको नेपाली सेना र निकुञ्जका हात्ती गस्ती टोलीलाई नै आक्रमण गर्न आउने क्रममा चुरेगज हात्तीलाई मकुनाले आक्रमणको प्रयास गरेको थियो । त्यसपछि दुई राउन्ड हवाई फायर गरिएको र त्यसबाट पनि हात्ती नभागेर दोस्रो हात्ती खगेन्द्र प्रसादलाई आक्रमण गरेको निकुञ्जले जनाएको छ । सो अवसरमा रेन्जर श्याम तामाङ हात्तीबाट भुइँमा खसेपछि आत्मरक्षाका लागि निकुञ्ज सुरक्षाकर्मीले बाध्यताले गोली चलाउन परेको निकुञ्जले विज्ञप्ति जारी गरेर जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा आत्मरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएमा निकुञ्ज सुरक्षाकर्मीलाई गोली चलाउन पाउने अधिकार उल्लेख गरिएको छ । मानवबस्तीमा निस्किएर केही भौतिक संरचनामा क्षति पु¥याए पनि उक्त हात्तीका कारण अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।