पटिहानीलाई बखान च्याम्पियनसिपको उपाधि

भरतपुर । तेस्रो बखान च्याम्पियनसिप कप फुटबलको उपाधि पटिहानी एफसीले जितेको छ । बिहीबार सम्पन्न उपाधि भिडन्तमा सूर्यपुर एफसीलाई हराउँदै पटिहानी च्याम्पियन बनेको हो ।
बखान मिनी रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा पटिहानी टाइब्रेकरमा ५–३ ले विजयी भयो । पहिलोपटक फाइनल पुगेको पटिहानीले पहिलोपटकमा नै उपाधि चुमेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा पटिहानीका गोलरक्षक कुमार खुलाल गुरूङ नायक बने । उनले सूर्यपुरको एक प्रहार बचाए । टाइब्रेकरमा हिरो बनेका कुमार प्लेयर अफ द म्याच बने ।
विजेता पटिहानीले ट्रफीसहित चार लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सूर्यपुरले दुई लाख रुपैयाँ प्राप्त गरेको छ ।
पटिहानीका रोशन क्षेत्री प्रतियोगिताभरको उत्कृष्ट खेलाडी तथा प्रतियोगिताभर चार गोल गरेका श्री शारदा युथ क्लब शारदानगरका मन्नु कुमाल सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही दश–दश हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, नारायणी मोटर्स युनिक क्लब बसेनी फेयर प्ले टिम बनेको छ । वडा खेलकुद बिकास समिति भरतपुर–१९ को आयोजनामा भएको प्रतियोगितामा दश टोली सहभागी थिए ।