नेपाल शिक्षक महासंघ रत्ननगरद्वारा नगरप्रमुखको ध्यानाकर्षण

केशव

फाल्गुन ८, २०८१

share this:

रत्ननगर । नेपाल शिक्षक महासंघ रत्ननगर नगर कार्यसमितिले रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटासमक्ष ध्यानाकर्षण पत्र बुझाएको छन् ।

देशमा गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध र शिक्षक कर्मचारीका पेसागत माग सम्बोधन गराउन स्थानीय सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नेपाल शिक्षक महासंघले २०७५, २०७८ र २०८० सालमा आन्दोलन गरी सरकारसँग गरेको सहमतिअनुरुप विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा आमशिक्षकको भावनाविपरीत निवृत्तिभरणसम्बन्धी अध्यादेश जारी गरिएको भन्दै विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी शिक्षा ऐन गराउन माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकको निर्णयअनुसार पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत ध्यानाकर्षण पत्र बुझाइएको बताइएको छ ।

आम नेपाली विद्यार्थी, शिक्षक र कर्मचारीको न्यायिक मागहरु सम्बोधन हुनेगरी शिक्षा ऐन जारी गराउने उद्देश्यले स्थानीय सरकारसमक्ष ध्यानाकर्षण गराइएको नेपाल शिक्षक संघ रत्ननगरका अध्यक्ष दधिराम पौडेलले जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रत्ननगरका अध्यक्ष बालकृष्ण क्षेत्री, पिएनएनटिएका केन्द्रीय उपमहासचिव डा. विष्णु कट्टेल र अखिल नेपाल शिक्षक संगठन रत्ननगरका अध्यक्ष रमेश भट्टलगायतको सहभागिता रहेको थियो ।