भरतपुर महानगरको ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरू

भरतपुर । भरतपुर महानगरपालिकाले सुत्केरी आमाहरुको लागि ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरू गरेको छ ।
आइतबार भरतपुर–१७ स्थित गुञ्जनगर स्वास्थ्यचौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रमको सुरूवात गरेकी हुन् । कार्यक्रममा २२ जना सुत्केरी आमालाई पोषण झोला प्रदान गरिएको थियो ।
भरतपुरका सरकारी स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएका आमाहरुलाई पोषण झोला वितरण गरिने भरतपुर महानगरका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए ।
‘सुत्केरी पोषण झोला’ कार्यविधि गत पुस २४ गतेदेखि लागू भएकाले सो मितिदेखि गर्भवती भएका सुत्केरी आमालाई पोषण झोला वितरण गरिने छ । पोषण झोलामा घ्यु, चना, केराउ, अण्डा, आयोडिनयुक्त नुन, दूधबर्द्धक चूर्ण र मालिस तेल रहेका छन् । पोषण कार्यक्रमबाट महानगरद्वारा सञ्चालित बर्थिङ सेन्टर तथा सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउनेक्रम बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आमा र बच्चाको पोषणका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले गाउँ–गाउँमा स्वास्थ्यसेवा पु¥याउने महानगरको योजनाअनुसार हाल ४२ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेको जानकारी दिइन् ।
विपन्न परिवारलाई पोषणको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने जानकारी दिन यो कार्यक्रम मह¤वपूर्ण रहने उनको विश्वास छ । महानगरद्वारा सञ्चालित पाँचवटा बर्थिङ सेन्टरबाट भिडियो एक्सरेसहितको सेवा दिन महानगर अघि बढेको उनले बताइन् । यी बर्थिङ सेन्टरबाट वार्षिक दुई सय आमाले बच्चा जन्माउने गरेका छन् ।
सो अवसरमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासी जनताले कुनै पनि स्वास्थ्यसेवाबाट वञ्चित हुनु नपरोस् भनी यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।
बच्चा जन्माएर घर फर्कने क्रममा बच्चालाई न्यानो झोलासहित पोषण झोलासमेत प्रदान गरिने शाखाका प्रमुख सुवेदीले जानकारी दिए । यो कार्यक्रम अब नियमितरूपमा सञ्चालन हुने छ । कार्यविधिअनुसार बच्चा जन्मिएको ४५ दिनभित्र जन्मदर्ता गराई बर्थिङ सेन्टरमा निवेदन दिनु पर्ने छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं–१७ का वडाध्यक्ष ललितमान तामाङ, भरतपुर महानगरपालिकाका स्वास्थ्यविज्ञ डा.भोजराज अधिकारीलगायतले मन्तव्य राखेका थिए ।