मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा चार जना घाइते

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१२, गोन्द्राङमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् । प्रदेश १–०२–०४४ प ३४२३ नम्बरको मोटरसाइकल र प्रदेश ०६–००२ प ८४९५ नम्बरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका संखुवासभाको खादबारी–१ बस्ने ३१ वर्षीय प्रकाश राई, मोटरसाइकलपछाडि सवार भोजपुरको भोजपुर चौकीडाँडा–७ बस्ने ३३ वर्षीया निसाना राईको नारायणी सामुदायिक अस्पताल, भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै, प्रदेश ०६–००२ प ८४९५ नम्बरको स्कुटरका चालक माडी–८ बस्ने २४ वर्षीया श्रीषा विक र स्कुटरपछाडि सवार लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं–३ बस्ने २० वर्षीया शान्ति तामाङ घाइते भएका हुन् ।
चालक विकको भरतपुर सरकारी अस्पतालमा र तामाङको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।