बछौली स्वास्थ्यचौकीमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण

रत्ननगर । २०औँ विश्व उच्च रक्तचाप दिवसको अवसरमा ‘तपाईंको रक्तचाप सहीरूपमा मापन गर्नुहोस्, यसलाई नियन्त्रण गर्नुहोस्, लामो समयसम्म बाँच्नुहोस्’ भन्ने नाराका साथ जनस्वास्थ्य कार्यालय चितवनको आयोजना एवम् रत्ननगर–६ वडा कार्यालय तथा बछौली स्वास्थ्यचौकीको समन्वयमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ ।
रत्ननगर–६ का वडाध्यक्ष किरण महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेतीले नसर्ने रोग लागेकामध्ये ७० प्रतिशत मानिसको मृत्यु हुने गरेको बताउँदै यो रोग समयमै पहिचान गरी उपचार गर्नका लागि गाउँगाउँमा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
सङ्क्रामक रोगहरु उपचारपश्चात् निर्मूल भए पनि नसर्ने रोगहरु देखा परेपछि आजीवन औषधि सेवन गर्नुपर्ने भएकाले यो रोग बढ्न नदिन समयमै आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको भनाइ थियो । उनले मुख्यमन्त्री कार्यक्रमअन्तर्गत
बकुलहर रत्ननगर अस्पतालमा उच्च रक्तचाप, मधुमेह, पिसाब, बिएमआईजस्ता परीक्षण निःशुल्क गर्न सकिने जानकारी दिए ।
नसर्ने रोग कार्यक्रम संयोजक गुरुप्रसाद कँडेलले गत फागुन महिनादेखि नै चितवनका पालिकाहरुमा नसर्ने रोगको स्क्रिनिङ अभियान सञ्चालन गरिँदै आएको र स्क्रिनिङपछि थप उपचार गर्नुपर्ने बिरामीहरुलाई अन्य अस्पतालहरुमा रेफर गरिने बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य बबिताकुमारी चौधरीले कुनै पनि नागरिक स्वास्थ्यसेवाबाट वन्चित हुन नपर्ने गरी रत्ननगर नगरपालिकाले वडावडामा स्वास्थ्य परीक्षण तथा ल्याबसेवा उपलब्ध गराउँदै आएको बताइन् । कार्यक्रममा वडा सदस्य केशरीमाया सुनार, वडा सचिव पदमराज सापकोटा, बछौली स्वास्थ्यकेन्द्र प्रमुख केशवबाबु पौडेललगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविरमा २११ जनाले स्वास्थ्यसेवा लिएका थिए । जसमा २११ जनाको मधुमेह जाँच, २११ जनाको मिर्गौला जाँच, २११ जनाको उच्च रक्तचाप जाँच गरिएकोमा १० जनामा हाइ ब्लड सुगर देखिएको थियो । यस्तै, १३ जनामा एल्बुमिन पोजेटिभ, ६५ जनाको आँखा जाँच गरिएकोमा १६ जनामा मोतीविन्दुको समस्या देखिएको थियो । यसैगरी, १२० महिलाको स्तन क्यान्सर जाँच गरिएकोमा ६ जनामा पोजेटिभ देखिएको र ६५ जनाको दाँतको स्क्रिनिङ गरिएको बछौली स्वास्थ्यकेन्द्र प्रमुख केशवबाबु पौडेलले जानकारी दिए ।
शिविरमा बकुलहर रत्ननगर अस्पतालका डा. अनुप भट्टचन, डा. प्रमिश भट्ट, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत अयोध्या पाठक, डा. दिपाली गुरूङ, बागमती प्रदेश मेडिकल ल्याब टेक्निसियन आशिष थापालगायतको टोलीले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा बछौली स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा सौराहा लेडी जेसीजले आवश्यक समन्वय गरेको थियो ।