दोस्रो माधवपुर गोल्डकप : आयोजक माधवपुर एपिएफसँग पराजित

केशव

जेष्ठ १२, २०८२

share this:

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१५, माधवपुरमा शनिबारदेखि सुरू भएको दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक माधवपुर पराजित भएको छ ।

आइतबार भएको दोस्रो खेलमा आयोजक माधवपुर खेलकुद विकास समिति सशस्त्र प्रहरी बल (एपिएफ)सँग ४–० को गोलअन्तरले पराजित भएको छ । एपिएफले खेलमा उत्कृष्ट प्रदर्शन प्रदर्शन गर्दै सहज जित हासिल गरेको हो ।

खेलको ११औँ मिनेटमा सविन गुरूङले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए । त्यसपछि १६औँ मिनेटमा अनिश महर्जनले गोल थप्दै स्कोर २–० बनाए ।

पहिलो हाफको अन्तिम मिनेटमा विज्ञान चौधरीले तेस्रो गोल गरेपछि एपिएफ ३–० ले अगाडि रह्यो । आयोजक टिमले पहिलो र दोस्रो हाफमा केही सुनौला अवसर सिर्जना गरे पनि गोल गर्न असफल भयो । दोस्रो हाफको २१औँ मिनेटमा सविन गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ४–० को जित सुनिश्चित गरे । खेलको ‘म्यान अफ द म्याच’ एपिएफका अनिष महर्जन घोषित भए । आयोजकका अनुसार सोमबार अभिषेक चर्च र बागमती पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज प्रालिको मुख्य प्रायोजनमा आयोजित यस प्रतियोगितामा बागमती पुलिस क्लब (हेटौँडा), सशस्त्र प्रहरी बल (एपिएफ), प्याराडाइज युवा क्लब, अभिषेक चर्च (रजहर), हेटौँडा फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, आयोजक टिम र न्यू पञ्चदीप युवा क्लब (रत्ननगर–१२) सहभागी छन् ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै, म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष मेडल प्रदान गरिने छ ।

जेठ १८ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको उद्घाटन शनिबार बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले गरेका थिए ।