पिठुवामा पानीजन्य रोग, नसर्ने रोग र रेबिजबारे सचेतना कार्यक्रम

केशव

जेष्ठ १४, २०८२

share this:

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा रत्ननगर–१४, १५ र १६ अन्तर्गतका टोलविकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षकलगायत सरोकारवालाहरुका लागि खानेपानी तथा सरसफाइसम्बन्धी सचेतना दिइएको छ ।

पिठुवा खानेपानी संस्थाका उपभोक्ताहरुलाई सरसफाइ, फोहरमैला व्यवस्थापन र पानीजन्य रोग र यसबाट बच्ने उपायका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजना क्षेत्रभित्रका नागरिकलाई पानीजन्य रोगबारे जानकारी प्रदान गर्न सो कार्यक्रम फलदायी हुने विश्वास उनले व्यक्त गरे ।

संस्थाका उपाध्यक्ष तुलबहादुर रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव रुपेश तिवारीले गरेका थिए । कार्यक्रमका मुख्य प्रशिक्षक पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्मा रहेका थिए । उनले सरसफाइ तथा फोहरमैलाको उचित व्यवस्थापन, पानीजन्य रोग र यसबाट जोगिने उपायका बारेमा आफ्नो प्रस्तुतिसहित प्रशिक्षण दिएका थिए ।

यस्तै, उनले नसर्ने रोगबारे सचेतना प्रदान गरेका थिए । पछिल्लो समय नसर्ने रोग चुनौतीको रुपमा देखिएको र हरेक तीनमध्ये दुई जनाको मृत्यु नसर्ने रोगका कारण भइरहेको भन्दै उनले अस्वस्थकर खानपिन, आहारविहारमा ध्यान दिँदै योग, व्यायामतर्फ पनि अग्रसर हुन सहभागीहरुलाई आग्रह गरे ।

नसर्ने रोगअन्तर्गत मधुमेह, उच्च रक्तचाप, थाइराइड, मोटोपना, मिर्गौला, मुटु, दमजस्ता रोगहरु पर्दछन् । यस्ता रोग लागेपछि जीवनभर औषधि खानुपर्ने भएकाले रोग लाग्नुअगावै समय–समयमा आफ्नो र परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

पिठुवा स्वास्थ्यचौकीमा आधारभूत स्वास्थ्यसेवालगायत ल्याबसेवासमेत निःशुल्क रहेकाले समयमै स्वास्थ्य परीक्षण गरी लाभ लिनसमेत उनले आग्रह गरे ।

यस्तै, उनले रबिज रोगबारे अर्को प्रस्तुति दिएका थिए । पछिल्लो समय पिठुवालगायत विभिन्न ठाउँमा स्याल र भुस्याहा कुकुरको बिगबिगी रहेकाले घरमा पालिएका र सडकमा छाडिएका कुकरलाई रेबिजविरुद्धको खोप लगाउन आवश्यक रहेको बताए । रेबिजकै कारण पिठुवामा एक वृद्धको मृत्युसमेत भएकाले स्याल, कुकुर, बिरालो, लोखर्के, न्याउरी मुसोजस्ता जुनोटिक रोग फैलाउने जनावरले टोकेमा तत्काल टोकेको दिन, तीन दिन र सात दिनमा रेबिजविरुद्धको भ्याक्सिन लगाउन आग्रह गरे । रेबिज लागिसकेपछि उपचार सम्भव नभएकाले बेलैमा सर्तक भई यस रोगका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ थियो ।

तालिममा दियालो टेक्नोलोजी, काठमाडौँका प्राविधिक पंकज सिंह र रितेश मैनालीले पिठुवा खानेपानी संस्थाको ‘मोबाइल एप्स’का बारेमा प्रशिक्षण दिएका थिए । उनीहरुले सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने समय आएकाले हरेक व्यक्तिले सूचना प्रविधिलाई अवलम्बन गर्न यस्ता प्रविधिबारे ज्ञान लिन आग्रह गरे ।