रत्ननगर–१६ मा विविध कार्यक्रम गरी मनाइयो विश्व वातावरण दिवस

रत्ननगर । रत्ननगर–१६, वडा कार्यालयको आयोजनामा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने मूल सन्देशका साथ विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ ।
रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले ‘स्वच्छ वडा, समृद्ध वडा : हाम्रो साझा सपना’ भन्ने नारालाई सार्थक बनाउन वडा कार्यालयले समय समयमा सन्देशमूलक कार्यक्रम आयोजना गर्दै आएको बताए । वातावरण संरक्षण भएमात्रै प्राणी जगतको अस्तित्व रहने भएकाले हरके सचेत व्यक्तिले वातावरण संरक्षणमा लाग्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमअन्तर्गत वातावरण संरक्षण, प्लास्टिकको प्रयोग न्यूनीकरण र पुनःप्रयोगसम्बन्धी महत्त्वपूर्ण जानकारी आदानप्रदान, विषयगत छलफल, सरसफाइ अभियान, स्थानीय समुदाय र विद्यार्थीहरूको सहभागितासहित र्याली तथा ‘वातावरणमैत्री वडा निर्माणतर्फ एक कदम’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको प्राविधिक शाखाका कर्मचारी उज्ज्वल देवकोटाले जानकारी दिए ।
कार्यक्रममा पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्मासहित स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु, विद्यालयका शिक्षकशिक्षिका, विभिन्न संघसंस्थाका नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।




यस्तै, वडा सचिव मन्जु पौडेलले यस अभियानबाट समुदायमा वातावरणप्रति उत्तरदायित्व र सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । र्यालीमा विद्यार्थीहरुले विभिन्न चेतनामूलक सन्देशसहित प्लेकार्ड बोकेका थिए ।