देवघाटको बजेट ४७ करोड ७३ लाख

देवघाट । आर्थिक वर्ष २०८२/०८३ का लागि देवघाट गाउँपालिकाले करिब पौने ४८ करोड रूपैयाँको बजेट ल्याएको छ । मङ्गलबार उपाध्यक्ष भुवनसिं गुरूङले प्रस्तुत गरेको बजेटअनुसार ४७ करोड ७३ लाख ७५ हजार रूपैयाँ बजेट आएको हो ।
त्यसमध्ये पनि सबैभन्दा धेरै पूर्वाधार विकासतर्फ विनियोजित भएको छ । पूर्वाधार विकासतर्फ मात्रै नौ करोड ८३ लाख रूपैयाँ बजेट छुट्याइएको गाउँपालिकाका उपाध्यक्ष गुरूङले जानकारी दिए ।
पूर्वाधार विकासतर्फ पनि वडा नं–३ मा दगरा जाने ङाल्दी खोलामा कल्भर्ट पुल निर्माण, वडा नं–५ को झारखानीमा लिफ्टिङ खानेपानी आयोजना र पर्यटन मार्ग कालोपत्रे, वडा नं–१ को गोपीटारमा लिफ्टिङ सिंचाइ आयोजना, वडा नं–२ को बञ्चरेभिरको बाटो स्तरोन्नति तथा नरम बेसारघारी खानेपानी आयोजनालगायतका विषय प्राथमिकतामा परेका छन् ।
अधिकांश वडा ग्रामीण क्षेत्र भएको हुँदा ग्रामीण भेगको आवश्यकता र चाहनाअनुसार यसवर्षको बजेटले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।
सुशासन तथा संस्थागत विकासतर्फ पनि नौ करोड ७७ लाख ६१ हजार रूपैयाँ बजेट विनियोजन भएको उनले बताए । यस्तै, सामाजिक विकासतर्फ दुुई करोड ७७ लाख ३४ हजार रूपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक विकासतर्फ ८५ लाख ८० हजार र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ भने २५ लाख रूपैयाँ छुट्याइएको छ ।
विनियोजित उक्त बजेटमध्ये संघ र प्रदेशबाट सशर्ततर्फ ४७ करोड ७३ लाख ७५ हजार रूपैयाँ रहेको गाउँपालिकाले जनाएको छ । पाँचवटा वडा रहेको देवघाट गाउँपालिकाले कुल बजेटमध्ये चालूतर्फ ३७ करोड ८२ लाख १२ हजार र पुँजीगततर्फ नौ करोड ९१ लाख ६३ हजार रूपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए ।
देवघाट गाउँपालिकाभित्रको कृषि, शिक्षा, स्वास्थ्य, लक्षितवर्ग, महिला तथा बालबालिका, न्यायिक समिति, पञ्जीकरणलगायतका विषयमा पनि बजेटले प्राथमिकता पाएको अध्यक्ष मगरले बताए । ‘सबै वडालाई आवश्यकताका आधारमा काम गर्ने गरी विनियोजन गर्ने प्रयास गरेका छौँ’, अध्यक्ष मगरले भने, ‘बजेटको स्रोत सीमित भए पनि त्यसलाई पनि पूर्ण सदुपयोग हुने गरी काम गर्ने योजनाअनुसार तयारी गरेका छौँ ।’