हेमोफिलिया, सिकलसेल एनिमिया र थालासेमियाको परीक्षण शिविर

केशव

असार १४, २०८२

share this:

रत्ननगर । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडाको आयोजना एवम् रत्ननगर नगरपालिका स्वास्थ्य शाखा, रत्ननगर–५ वडा कार्यालय र नगर स्वास्थ्यकेन्द्र टरौलीको समन्वयमा हेमोफिलिया, सिकलसेल एनिमिया र थालासेमियाको पहिचान, परीक्षण र विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शिविरको उद्घाटनका अवसरमा रत्ननगर–५ का वडाध्यक्ष एवम् नगर स्वास्थ्यकेन्द्रका सञ्चालन समिति अध्यक्ष बालकृष्ण चापागाईंले रत्ननगर–५ मा आधाभन्दा बढी आदिवासी जनजातिहरुको बसोबास रहेको र हेमोफिलिया, सिकलसेल एनिमिया र थालासेमिया रोगका कारण दीर्घकालीन समस्या नहोस् भन्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य कार्यालयसँग आग्रह गरी शिविर सञ्चालन गरिएको बताए ।

जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका ल्याब टेक्निसियन निश्चल सापकोटाले खास गरी थारु समुदायमा हेमोफिलिया, सिकलसेल एनिमिया र थालासेमिया रोगको प्रकोप उच्च रहेको बताए । नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद् र त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाको सर्वेक्षणअनुसार थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा १८ प्रतिशतमा सिकलसेल एनिमिया पुष्टि भएको उनले बताए ।

सापकोटाले हेमोफिलिया, सिकलसेल एनिमिया र थालासेमिया वंशाणुगत रोग भएकाले अहिले थारु समुदायको बस्तीहरुमा स्क्रिनिङ गरिएको र रिपार्टअनुसार परिवारका अन्य सदस्य र वंशअनुसार सबै सदस्यको परीक्षण गरिने जानकारी दिए ।

रत्ननगर–५ को शिविरमा १ वर्षदेखि २९ वर्षका ७६ जनाको नमुना सङ्कलन गरिएको थियो । यस्तै, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडाको आयोजनामा रत्ननगर–४ को आधारभूत स्वास्थ्यकेन्द्रमा गरिएको शिविरमा ७५ जनाको नमुना सङ्कलन गरिएको थियो ।

हेमोफिलिया, सिकलसेल एनिमिया र थालासेमियाको परीक्षण निकै महङ्गो हुने र सरकारी अस्पतालमा पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षणको सुविधा रहेको उनले बताए ।

शिविरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियनहरु स्मृति आचार्य, करुणा शर्मा, रेश्मा मानन्धर, आशिष थापा, सन्तोष तिमिल्सिना र प्रमिश न्यौपानेको टोलीले सेवा दिएको थियो । नगर स्वास्थ्यकेन्द्र टरौलीका इन्चार्ज गोविन्दप्रसाद शर्माले सहजीकरण गरेको कार्यक्रममा वडा सदस्य निलु शर्मा खतिवडाले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा झुवानी माविका विद्यालय नर्स प्रियंका अधिकारी, सिअनमी निरीक्षक रुकमायादेवी शर्मा, अनिता ढकाल, लिरिष्मा चौधरी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका अर्चना दुवाडी, किशुनी चौधरी र सीता सुवेदीले समन्वय तथा व्यवस्थापन गरेका थिए ।