विक्रमबाबा मेलाको लागि भरतपुर महानगरपालिकाको स्थलगत अवलोकन तथा निरीक्षण
भरतपुर । भरतपुर महानगरपालिकाले रामनवमी पर्व (विक्रमबाबा मेला) लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । यही चैत्र २६ गतेदेखि भरतपुर–२३ जगतपुरमा सञ्चालन हुने विक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो ।
विक्रमबाबा मेला–२०८० को सञ्चालन व्यवस्थापन तथा व्यावसायिक क्रियाकलाप नियमनसम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले अनुगमन गरेको हो । समितिका सयोजक एवं महानगरका उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षणमा गएको टोलीले मेलाको सञ्चालन व्यवस्थापन तथा व्यावसायिक क्रियाकलाप नियमनसम्बन्धी विषयमा अध्ययन गरेको छ ।
मेलालाई थप व्यवस्थित गर्ने, हाल मेला स्थलमा देखिएका समस्याहरुलाई समाधान गर्ने, मेलालाई सफलतापूर्वक सम्पन्न गर्न सबैलाई आग्रह गर्ने लगायतका विषयहरुमा अनुगमन टोलीकेन्द्रित भएको छ । अनुगमन टोलीले सदियौँदेखि विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएको बिक्रमबाबा मेलालाई यस वर्षदेखि अन्य संघसंस्थाहरुको सहकार्यमा भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।
अनुगमनमा भरतपुर–२३ का अध्यक्ष दीपक दवाडी, भरतपुर महानगरका उपनिर्देशक जगन्नाथ अर्याल, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लीलाराज भूषाल, केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेललगायतको सहभागिता रहेको थियोे ।
हरेक वर्ष चैते दसैँको समयमा बिक्रमबाबा मेला लाग्ने गर्दछ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारु जातिमा प्रचलनमा रहेको छ । बिक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ बिक्रमबाबाको पूजा गर्ने गरेको पाइन्छ ।
चैते दसैँमा हजारौँ भक्तजनले बिक्रम बाबा दर्शन गर्ने र पशुपक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाहरुबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्दछन् । मेला वैशाख ११ सम्म सञ्चालन हुनेछ ।
यसैबीच, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा सात सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस्तै, भरतपुर–२३ का अध्यक्ष दीपक दवाडीको संयोजकत्वमा सात सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।