भरतपुर महानगरद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ । बिहीबार महानगर सभाहलमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल तथा अन्तर्क्रिया गरी समृद्ध महानगर निर्माण गर्ने नीतिहरु संकलन गरिएको थियो ।
भरतपुर महानगरपालिकाले १५ औँ नगरसभाका लागि तयारी तीव्र पारेको हो । छलफलका क्रममा आएका मागहरुलाई लिपिबद्ध गरेको छ । छलफल कार्यक्रममा अधिकांश वक्ताहरुले आगामी आर्थिक वर्षमा उत्पादन, रोजगारी र बजारीकरणलाई जोड दिएका छन् । सहभागीहरुले अबको नीति तथा कार्यक्रमले धेरै उत्पादन भएर दूध, गोलभेँडा सडकमा फाल्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखेका थिए ।
यस्तै, वक्ताहरुले शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने, आइटी शिक्षालाई विद्यालयस्तरबाटै लागू गर्नुपर्ने, आयमूलक सीपमूलक तालिम, युवा व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रोत्साहन, वडागत शिक्षाको बजेटमा १० प्रतिशतभन्दा वृद्धि गर्नुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता, घरको फोहर घरमै व्यवस्थापन गर्ने नीति ल्याउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा भरतपुर महानगरका राजनीतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, बुद्धिजीवी, विषयविज्ञ, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारीले अब समेट्नुपर्ने नीतिबारे जोड दिएका थिए ।
सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक इमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक इमेलमा राय सुझाव पठाउन सकिने छ । महानगरले यसअघि सडक पूर्वाधारलाई प्राथमिकता दिए पनि यसपटक भने उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।