भारतीय नम्बरको स्कार्पियो दुर्घटना, दुई जनाको मृत्यु

केशव

असार ८, २०८१

share this:

रौतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४, धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कार्पियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते छन् ।

सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवातर्फ जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कारपियो गाडीको पछाडि देब्रे तिरको चक्का पड्किएर अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो ।

गाडी खयरको रुखमा ठोक्किएर क्षतिग्रस्त गाडीमा सवार दुई जनाको मृत्युसँगै चार जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यले जानकारी दिए ।

मृत्यु हुनेमा भारत विहार पूर्वी चम्पारण जिल्ला ग्राम पञ्चायत झिट्काहीया ४ का ३५ वर्षीय तमन्ना शेख रहेको प्रहरीले जनाएको छ।

त्यस्तै सोही ठाउँका २१ वर्षीय इरफान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक २२ वर्षीय सोहेल अमिर समेत घाइते भएका थिए । घाइतेहरुको बिरगंजमा उपचार भएको प्रहरीको भनाई छ ।