खैरहनी महोत्सव एकदिन थपियो, अन्तिम दिन निःशुल्क प्रवेश

केशव

पुस १७, २०८१

share this:

खैरहनी । तेस्रो खैरहनी महोत्सवको समयावधि एकदिन थपिएको छ । मङ्गलबार सकिने महोत्सव आज बुधबारसम्म एकदिन थप गरिएको महोत्सव आयोजक उद्योग वाणिज्य संघ खैरहनीले जनाएको छ ।

महोत्सवका संयोजक एवं संघका अध्यक्ष कुमार खनालका अनुसार दर्शकको माग र अङ्ग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै एकदिन महोत्सवको समय थपिएको हो । खैरहनी महोत्सव पुस ५ गतेदेखि सुरू भएको थियो ।

थपिएको समयका लागि भने दर्शकले निःशुल्क प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । अन्य दिन ८० रूपैयाँ टिकट शुल्क रहेकोमा अन्तिम दिन अवलोकनकर्ताले बिनाटिकट निःशुल्क प्रवेश गर्न पाउने महोत्सव संयोजक खनालले जानकारी दिए । महोत्सवको समापन बागमती प्रदेशसभा सदस्य एवं पूर्वअर्थमन्त्री जेएन थपलियाको प्रमुख आतिथ्यतामा हुने संयोजक खनालले बताए ।

महोत्सवको १२औँ दिन कलाकार ज्योति मगरको साङ्गीतिक प्रस्तुतिमा उपस्थित हजारौँ दर्शकले मनोरञ्जन लिए । त्यस्तै, कलाकार बालचन्द्र बरालको समेत प्रस्तुति रहेको थियो ।

मङ्गलबार १० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका आयोजकले जनाएको छ । आज समापनका दिन स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहने कला तथा सांस्कृतिक समिति संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।