एआई एक्सरे प्रविधिबाट क्षयरोग पत्ता लगाउन अभिमुखीकरण

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एआई एक्सरे प्रविधिबाट क्षयरोगका बिरामी खोजपड्तालसम्बन्धी अभिमुखीकरण कार्यक्रम बकुलहर रत्ननगर अस्पतालको सभाहलमा सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेलले स्वागत तथा कार्यक्रमको बारेमा प्रकाश पार्दै बकुलहर रत्ननगर अस्पतालमा क्षयरोग पत्ता लगाउने उच्चस्तरीय जिन एक्सपर्ट मेसिन र एआई एक्सरे प्रविधि उपलब्ध रहेकाले यस प्रविधिको समुचित प्रयोगबाट समुदायमा छुटेका बिरामी पत्ता लगाउन सहज हुने विश्वास व्यक्त गरे ।
रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा उनले सुकुमबासी बस्ती, घना बस्ती र समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीको खोजी गरी उपचारको दायरामा ल्याउन स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरुको भूमिका मह¤वपूर्ण रहेको र वडा कार्यालयले समन्वय र सहयोगको लागि तयार रहेको बताए ।

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका क्षयरोगमुक्त अभियान संयोजक आशिका घिमिरेले सञ्चालन तथा सहजीकरण गरेको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ट अधिकृत एवम् क्षयरोग फोकल पर्सन जयराम दुवाडीले क्षयरोगसम्बन्धी प्रस्तुति दिँदै नेपालमा जीर्ण क्षयरोगका बिरामी प्रतिवर्ष तीन हजार पत्ता लाग्नुपर्नेमा ७५६ जना मात्र पत्ता लागेको र दुई हजार २४४ जना अर्थात् ७५ प्रतिशत लुकेर रहेको जानकारी दिए ।
यस्तै, चितवनमा करिब आठ लाख जनसंख्याअनुसार एक हजार ६४८ जना क्षयरोगी पत्ता लगाउनुपर्नेमा एक हजार १२९ जना मात्र पत्ता लागेको र ५१९ जनाको खोजी गरी उपचारको दायरामा ल्याउन आवश्यक रहेको बताए । यस्तै, रत्ननगर नगरपालिकामा करिब एकलाख जनसंख्या रहेकोमा प्रतिलाख २२९ जना बिरामी पत्ता लगाउनुपर्नेमा १२४ जना लुकेर रहेको बताए ।
समुदायमा लुकेर रहेका बिरामीको स्क्रिनिङ गरी उपचारको दायरामा ल्याउनको लागि यही असार १२ र १३ गते रत्ननगर–९ र रत्ननगर–११ मा समुदायलक्षित स्क्रिनिङ क्याम्प सञ्चालन गर्न लागिएको र त्यसैका लागि स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुका लागि अभिमुखीकरण सञ्चालन गरिएको बताए ।
यस्तै, जन्त्र चितवनका क्षयरोग कार्यक्रम संयोजक सन्दीप रावल र नृप भुलले जोखिममा रहेका मानिस, भीडभाड बढी हुने क्षेत्र, कारखानाका मजदुर, ज्येष्ठ नागरिक, घनाबस्तीका समुदाय, क्षयरोगको पहुँच नभएका समूहलाई लक्षित गरी क्षयरोगका बिरामी खोजपड्ताल गर्न स्क्रिनिङ क्याम्प सञ्चालन गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका रत्ननगर नगरपालिका स्वास्थ्य फोकल पर्सन नारायणप्रसाद ढुङ्गाना, रत्ननगर–९ का आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख विदुर बस्ताकोटी, रत्ननगर–११ का आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख दुर्गा श्रेष्ठ, रत्ननगर–९ र ११ का स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु, क्षयरोग स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।