‘चितवन फेसन रन वे’को तेस्रो संस्करण हुने

केशव

फाल्गुन १३, २०८१

share this:

भरतपुर । चितवन फेसन रन वे विथ म्युजिकल फेस्टको तेस्रो संस्करण चैत ३ गते हुने भएको छ । सोमबार डल्ले रेस्ट्रो विशाल चोकमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक दी राइज इभेन्ट्सले कार्यक्रमबारे जानकारी दिएको हो ।

यसअघिका दुई संस्करणमा रन वे मात्रै गरिएकोमा यसपटक म्युजिकल फेस्ट पनि थप गरिएको दी राइज इभेन्ट्सका सिइओ सलिन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कार्यक्रम सिएमटी रिसोर्ट हाकिमचोकमा हुने छ ।

यसपटक अघिल्ला संस्करणभन्दा फरक र बृहत् गर्ने तयारी रहेको उनको भनाइ थियो । रन वेमा २५ मोडलहरु रहनेछन् । जसमा १५ महिला र १० पुरुष मोडलहरु रहनेछन् । अहिले इच्छुक मोडलहरुको नाम दर्ता गर्नेक्रम चलिरहेको श्रेष्ठले बताए । फागुन १५ गते उनीहरुको अडिसन हुनेछ । अडिसनबाट छनोट भएका मोडलहरुलाई फागुन १८ गते अभिमुखीकरण गरिनेछ । फागुन २० गतेबाट तालिम सुरू हुने श्रेष्ठले बताए ।

तालिममा वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेसन क्षेत्रसँग सम्बन्धित प्रशिक्षण दिइने कोरियोग्राफरसमेत रहेका श्रेष्ठले जानकारी दिए । यस्तै, उनीहरुलाई डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण पनि दिने तयारी छ । यसले मोडलिङमा सक्रिय चितवनका मोडलहरुलाई यही क्षेत्रमा स्थापित गर्न मद्दत मिल्ने श्रेष्ठको भनाइ छ । यसले उनीहरुका लागि नयाँ अवसरका बाटो खुलाउन सहयोग पुग्ने उनले बताए ।

रन वेसँगै कट्टभ र ट्रिएङ्गल डुओ ब्यान्डको साङ्गीतिक प्रस्तुति पनि रहनेछ । यस्तै, अन्य स्थानीय कलाकारको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । रन वे र साङ्गीतिक कार्यक्रम रहनेछ । कार्यक्रमस्थलमा व्यावसायिक स्टलहरु पनि रहनेछन् । यसका लागि स्टल बुकिङ भइरहेको छ ।

यस्तै, कार्यक्रममा आउने दर्शकहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । लामो समयदेखि यस क्षेत्रबाट संगालेको अनुभवले यस कार्यक्रमलाई उत्कृष्ट बनाउने प्रयास रहेको श्रेष्ठको भनाइ छ । कार्यक्रमको मुख्य प्रायोजकमा ओमोडा र जेईका रहेका छन् । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।