रत्ननगर–१३ मा क्षयरोग खोजपड्तालसम्बन्धी अभिमुखीकरण

केशव

चैत्र १२, २०८१

share this:

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वयंसेवकहरुको परिचालन र समुदायमा घरदैलो गरी क्षयरोग खोजपड्तालसम्बन्धी अभिमुखीकरण आइतबार रत्ननगर–१३ स्थित पञ्चकन्या स्वास्थ्यचौकीमा सम्पन्न भएको छ ।

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरी समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीको खोजी गरी उपचारको दायरामा ल्याउने उद्देश्यले सो कार्यक्रम गरिएको हो ।

रत्ननगर–१३ का कार्यवाहक वडाध्यक्ष अजित चौरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंले नगरलाई स्वस्थ राख्न महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका प्रभावकारी रहेको बताउँदै समुदायमा पुगेर शंकास्पद क्षयरोगीको खोजी गरी उपचारको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले सरकारको लक्ष्यअनुरुप क्षयरोगीको स्क्रिनिङ गर्न स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरु लक्षित सुमदायको घरदैलोमा पुग्न आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले रत्ननगरमा यस आर्थिक वर्षमा ८२ जना क्षयरोगी पत्ता लागेको र अघिल्लो वर्ष १०६ जना बिरामीको खोजी गरी उपचारको दायरामा ल्याएको बताए । सरकारले सन् २०५० सम्म क्षयरोगीको संख्या प्रतिलाख एक जनामा झार्ने दीर्घकालीन लक्ष्य लिएको बताउँदै सोही लक्ष्यलाई पूरा गर्न गत वर्षदेखि क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा पञ्चकन्या स्वास्थ्यचौकीका प्रमुख विदुर बस्ताकोटी, पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्मा, बछौली स्वास्थ्यचौकीका प्रमुख केशवबाबु पौडेल, वडा सदस्य रत्नमाया श्रीमल, १६ वटै स्वास्थ्यकेन्द्रका प्रमुख, रत्ननगर–१० का क्षयरोग समुदाय स्वयंसेवक किसानप्रसाद पौडेल, कमला न्यौपाने, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।

सहभागी स्वास्थ्यकर्मी, स्वयंसेविका तथा क्षयरोग स्वयंसेवकहरुलाई अभिमुखीकरण गर्दै स्वास्थ्य शाखाका क्षयरोग अभियानका संयोजक आशिका घिमिरेले सहभागीहरुलाई बिरामीको घरवरपर र पिछडिएको बस्तीलाई प्राथमिकतामा राखेर शंकास्पद व्यक्तिहरुको खकार संकलन गर्न पनि आग्रह गरिन् ।

कार्यक्रममा रत्ननगर–१०, ११, १२ र १३ का महिला स्वास्थ्य स्वयंसेविका, क्षयरोग स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बकुलहर रतननगर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।

यसैबीच, विश्व क्षयरोग दिवसको अवसरमा ‘हो, हामी क्षयरोग अन्त्य गछौँ । लगानीको प्रतिबद्धता र सेवाप्रवाहको सुनिश्चितता अबको आवश्यकता’ भन्ने नाराका साथ पञ्चकन्या स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुबीच अन्तर्क्रिया गरिएको थियो ।

रत्ननगर–१३ का कार्यवाहक अध्यक्ष अजित चौरेलको अध्यक्षता एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।