चितवन महोत्सवमा ‘स्लो साइकल रेस’ प्रतियोगिता

भरतपुर । नारायणगढस्थित नारायणी नदीकिनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ चितवनद्वारा आयोजित १५ औँ संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।
महोत्सवमा विविधि विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिलेकाहीँ खेलकुदका गतिविधिसमेत भइरहेका छन् ।
महोत्सव परिसरमा बुधबार बिहान स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । साइकल व्यावसायी संघ चितवन नवलपुरसँगको सहकार्यमा महोत्सव मुल समितिले स्लो साइकल रेस प्रतियोगिता आयोजना गरेको हो ।
३८ जनाको सहभागिता रहेको प्रतियोगितामा करण खड्का प्रथम, अन्जित ढकाल द्वितीय र सुरेश राना तृतीय भए । विजेताहरुलाई क्रमशः गेर साइकल, लेडिज साइकल र सानो साइकल पुरस्कार प्रदान गरिएको चितवन महोत्सव खेलकुद समिति संयोजक शंकरप्रसाद घिमिरेले जानकारी दिए ।
खुला रुपमा खेलाडीको दर्ता गराइएको थियो । दर्ता शुल्क प्रतिखेलाडी १०० रुपैयाँ तोकिएको थियो । प्रतियोगितापछि उद्योग वाणिज्य संघ समिति र कर्मचारीहरुले पनि मैत्रीपूर्णरुपमा स्लो साइकल रेस खेलेका थिए ।
पुस २५ गते बाट सुरू भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १०ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ तथा विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सवअन्तर्गत नै पुस २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबलसमेत सुरू भएको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ः०० बजेदेखि राति १०ः०० बजेसम्म सञ्चालन हुने छ ।