गैँडाको चोरीसिकार ५१६ दिनदेखि शून्य

केशव

बैशाख ३, २०८२

share this:

कसरा । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीसिकार हुन नपाएको उनले बताए । चालू आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोवास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न नपाएका हुन् ।

गत आर्थिक वर्षमा गैँडा २१ वटा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरीसिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए ।
विगतमा एक हजार ७१ दिनसम्म चोरीसिकार शून्य भएपछि उत्सवका रुपमा मनाइएको थियो । त्यसपछिका वर्षहरुमा चोरीसिकार शून्य गर्ने तर यसलाई उत्सवका रुपमा नमनाउने नीतिअनुरुप काम गरिएको थियो ।

सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यसवर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको छ ।

यसैबीच वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् । वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले मंगलबार काठमाडौँमा आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा उनले संरक्षण क्षेत्रले अब आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

मन्त्री शाहीले भने, “पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व र व्यवस्थापनको चुनौती बढेको छ । यसलाई व्यवस्थापन गरी न्यूनीकरण गर्न वन मन्त्रालयसँगै अन्य निकाय र सरोकारवाला सबैको सहयोगको अपेक्षा गर्दछौँ ।”

कार्यक्रममा वन मन्त्रालयका सचिव डा दीपककुमार खरालले विभागले संरक्षणको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै अब मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा काम गर्नुपर्ने बताए । साथै उनले स्थानीय समुदायमा संरक्षणप्रति अपनत्वका साथ बुझाइमा एकरुपता ल्याउनुपर्ने सुझाए ।

विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै प्राप्त उपलब्धिलाई जोगाउन चुनौतीको सामना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिए । साथै उनले सप्ताह कार्यक्रमले संरक्षणका लागि जनचेतना फैलाउन ठूलो योगदान पुग्ने उल्लेख गरे ।

कार्यक्रममा विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, वन प्राविधिक सङ्घका अध्यक्ष डा राकेश कर्ण, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा.चिरञ्जीवीप्रसाद पोखरेल, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक अजितकुमार कर्ण, जियोलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालका डा दिनेश न्यौपानेलगायतले मानव–वन्यजन्तु द्वन्द्व संरक्षणका लागि चुनौती बनेको उल्लेख गर्दै समाधानमा सबै लाग्नुपर्नेमा जोड दिए ।