व्यक्तिगत लगानीमा निर्मित धाम वनलाई हस्तान्तरण

भरतपुर । भरतपुर महानगरपालिका–२ आँपटारीमा स्थानीय समाजसेवी केशवराज कँडेलले व्यक्तिगत लगानीमा निर्माण गरेको सिद्धेश्वरधाम जलदेवी सामुदायिक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । विसं २०७३ मा जलदेवी सामुदायिक वन क्षेत्रको पाँच कट्ठा क्षेत्रफलमा कँडेलले भगवान्को प्रतिमासहित धाम निर्माण गरेका थिए ।
भरतपुर महानगरपालिका–२ कै बासिन्दा कँडेलले धाम निर्माण गरी सामुदायिक वनलाई स्वामित्व हस्तान्तरण गरेका हुन् । हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराजले धाममा रहेका मूर्तिहरुको प्राणप्रतिष्ठा गरी वनलाई हस्तान्तरण गरिएको थियो । स्वामी ज्ञानानन्दले भने, “धार्मिक कामले पुण्य प्राप्त गरिन्छ । हिन्दू धर्मअनुसार गरिएका कामले सनातन धर्मको रक्षाका लागि योगदान पुग्छ ।” उनका अनुसार धर्म रक्षाका लागि गरिएको योगदान सधैँ सार्थक रहन्छ ।
देवघाट जाने मुख्य द्वारअगाडि धाम निर्माण गर्दा भक्तजनको आकर्षण बढ्ने अनुमान गरिएको छ । यहाँ २२ फिट अग्लो शिवलिङ्गसहित स–साना नन्दी (वहान), सूर्य, गणेश, नारायण, हनुमान, काली, सन्तोषीमाता, विष्णु र सरस्वतीको मूर्ति (प्रतिमा) राखेर धाम निर्माण गरिएको छ । जलदेवी सामुदायिक वनको अनुरोधमा धाम निर्माण गरेको उल्लेख गर्दै उनले यस धामले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भरतपुर महानगरपालिका–१ र २ का वडाध्यक्ष केशव महर्जन, मनोज रानाभाट, नेपाली कांग्रेसका पूर्वसभापति विकास कोइराला, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस्ता धार्मिकस्थलको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनको गन्तव्य बन्ने बताए । यसले यहाँको मह¤व बढाउने भन्दै धार्मिक क्षेत्रको संरक्षण गर्दै धार्मिक पर्यटनका रुपमा विकास गर्ने योजना बनाउन आवश्यक रहेको उनीहरुको सुझाव थियो ।
जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा धामले ठूलो सहयोग पुग्ने बताए । सामुदायिक वन क्षेत्रभित्रको पाँच प्रतिशत वा पाँच हेक्टरसम्मको जग्गा पर्यापर्यटनका रुपमा प्रवद्र्धन गर्ने योजनाअनुसार धाम निर्माणका लागि आफूहरुले सहयोग गरेको उनले बताए ।