उवासंघ–चितवनका सदस्यलाई पुष्पाञ्जली हस्पिटलमा छूट

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई पुस्पाञ्जली हस्पिटल प्रालिले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र हस्पिटलबीच बिहीबार छूट दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्वअन्तर्गत संघमा आवद्ध सदस्य व्यवसायीलाई छूट दिने व्यवस्था गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवासुविधा वृद्धि गर्नको लागि संघ प्रयत्नशील रहेको बताउँदै स्वास्थ्यसेवा सहुलियत उपलब्ध गराउने पुष्पाञ्जली हस्पिटल प्रालिप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक सुजनराज अधिकारीले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवासुविधा दिन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस किसिमका छूट उपलब्ध गराउँदै लैजाने बताए ।
सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराइएको सदस्यता परिचयपत्र देखाउनुपर्ने छ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
पुष्पाञ्जली हस्पिटल प्रालिमा संघका सदस्यहरूले बेड चार्ज, ल्याब टेस्ट, इसिजी, इको, एक्सरेलगायतको सेवामा २५ प्रतिशत, अपरेसन सिटिस्क्यान र क्याबिन सेवामा १० प्रतिशत तथा फार्मेसीमा ७ प्रतिशत छूट पाउने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताए ।
सदस्य व्यवसायीका परिवारका अन्य सदस्यहरूले समेत सो सुविधा प्राप्त गर्ने हस्पिटलका प्रबन्ध निर्देशक अधिकारीले बताए । सम्झौता पत्रमा संघका अध्यक्ष श्रेष्ठ र हस्पिटलका प्रबन्ध निर्देशक अधिकारीले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर केसी, पुष्पाञ्जली हस्पिटल प्रालिका डा. भोजराज अधिकारी र केदारप्रसाद सुवेदीको सहभागिता रहेको थियो ।