रत्ननगरमा ‘टोल–टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान

केशव

असार १, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिकाले सत्प्रतिशत सामाजिक सुरक्षा अभियानअन्तर्गत विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षितगरी ‘टोल–टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम असार २ गतेदेखि ६ गतेसम्म नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन हुनेछ ।

कार्यक्रमको पहिलो दिन असार २ गते वडा नम्बर १३ को प्रेमबस्ती र रामजानकी टोलविकास संस्थामा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । नगरपालिकाले सम्बन्धित टोलविकास संस्थाहरूलाई कार्यक्रमको प्रचार–प्रसार गरी स्थानीयको सहभागिता सुनिश्चित गर्न र उचित वातावरण तयार गर्न समन्वय गर्न अनुरोध गरेको छ ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीका अनुसार यो अभियान असार २ गतेदेखि लगातार विभिन्न वडाहरूमा सञ्चालन हुनेछ । असार २ गते वडा नम्बर १३ मा कार्यक्रम सम्पन्न भएपछि असार ३ गते वडा नम्बर १२ को सालघारी टोलमा आयोजना हुनेछ ।

त्यस्तै, असार ४ गते वडा नम्बर ४ को बगैँचा टोल, चौधरी मिलन टोल र भोकाहा टोलमा कार्यक्रम सञ्चालन हुनेछ । असार ५ गते वडा नम्बर ६ को ओद्रा टोल र दोरङ्गी टोलमा र अन्तिम दिन असार ६ गते वडा नम्बर ३ को नमुना टोलमा कार्यक्रम सम्पन्न गरी सचेतना अभियानको समापन गरिने छ ।

यो कार्यक्रमले विपन्न तथा सीमान्तकृत समुदायलाई सामाजिक सुरक्षा भत्ताको महत्त्व, पञ्जीकरण प्रक्रिया र अन्य सम्बन्धित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ । नगरपालिकाले स्थानीय टोलविकास संस्थाहरूसँगको सहकार्यमा कार्यक्रमलाई प्रभावकारी बनाउन समन्वय गरिरहेको छ ।

‘यो अभियानले सामाजिक सुरक्षा भत्ताको पहुँच वृद्धि गर्न र सीमान्तकृत समुदायलाई सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ बस्ताकोटीले भने । सम्बन्धित वडा कार्यालय र टोलविकास संस्थाहरूलाई कार्यक्रमको जानकारी स्थानीय समुदायमा पु¥याउन र सहभागिता सुनिश्चित गर्न उनले आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागी हुन र सामाजिक सुरक्षा भत्तासम्बन्धी जानकारी लिन सम्बन्धित टोलका बासिन्दालाई नगरपालिकाले आह्वान् गरेको छ ।