रास्वपाको हस्ताक्षर संकलनप्रति कांग्रेस चितवनको आपत्ति

केशव

असार २६, २०८२

share this:

भरतपुर । चितवनलगायत देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको हस्ताक्षर संकलनप्रति नेपाली कांग्रेस चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सहकारीपीडितको मुद्दामा अनुसन्धानका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा चितवनमा सञ्चालन गरिएको हस्ताक्षर संकलन तथा चन्दा संकलन अभियानप्रति नेपाली कांग्रेस चितवनले आपत्ति प्रकट गरेको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जारी गरेको विज्ञप्तिमा अदालतको आदेशमा अनुसन्धानका क्रममा रहेका व्यक्तिको रिहाइको नाममा चितवन जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको उक्त अभियान कानुनविपरीत भएको ठहर गरिएको छ ।

‘सहकारी पीडितहरूको उजुरी तथा संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा अनुसन्धानमा रहेका व्यक्तिको पक्षमा दबाब सिर्जना गर्न खोज्ने यस्ता गतिविधिहरूले कानुनको शासनमा हस्तक्षेप पु¥याउने खतरा बोकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले अदालत तथा अनुसन्धान प्रक्रियामा अवाञ्छित प्रभाव पार्ने उद्देश्यले सञ्चालित यस्ता अभियानहरू तत्काल रोक्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग सम्बन्धित रहँदै चन्दा संकलन अभियान सञ्चालन गर्नु जनमानसमा थप शंका र भ्रम सिर्जना गर्ने कार्य हो । यसप्रकारको अनाधिकृत चन्दा संकलन तत्काल रोक्न स्थानीय प्रशासनलाई हामी आग्रह गर्दछौँ ।’

कांग्रेस चितवनले राजनीतिक दल र सम्बन्धित व्यक्ति तथा समूहहरूलाई कानुनी मर्यादा र न्यायिक प्रक्रियाप्रतिको सम्मान गर्न पनि विज्ञप्तिमार्फत अपिल गरेको छ ।