पत्रकार आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघसहित विभिन्न संगठनद्वारा भर्त्सना

भरतपुर । भरतपुर-७ स्थित लाल्सा रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ चितवन शाखासहित विभिन्न पत्रकार संगठनहरूले घोर भर्त्सना गरेका छन् ।
बेस्ट ब्रेन एजुकेसन भिजा सर्भिसेसले बेलायत लैजाने भन्दै रकम लिएर पनि सेवा नदिएको र पैसा फिर्ता माग्दासमेत नदिएको भन्दै पीडितहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । तर, सुनुवाइ नभएपछि पीडितहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्ने प्रयास गरेका थिए ।
सम्मेलनमा भरतपुर महानगरपालिका-४ का ३२ वर्षीया कमला सापकोटा, २३ वर्षीय सागर खरेल र काभ्रे पाँचखाल नगरपालिका-८ का ३३ वर्षीय सविन थापालगायतका व्यक्तिहरूले प्रहरीसहित प्रवेश गरी गुण्डागर्दी शैलीमा पत्रकारहरूमाथि आक्रमण गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
आक्रमणकारीहरूले पत्रकारको क्यामेरा धकेल्ने, खिचिएका फोटो र भिडियो डिलिट गर्न दबाब दिने तथा कुटपिट गरेको पत्रकार अनिल ढकालले बताएका छन् ।
विज्ञप्तिमा प्रहरीले आक्रमणकारीलाई संरक्षण गर्दै मुकदर्शक बनेको भन्दै आपत्ति जनाइएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुली, नेपाल प्रेस युनियन चितवन शाखाका उपाध्यक्ष प्रस्ताव सुवेदी, प्रेस चौतारी नेपाल चितवन शाखाका सचिव लक्ष्मण गौतम, प्रेस सेन्टर नेपाल चितवन शाखाका अध्यक्ष राजेन्द्र आचार्य, समाजवादी प्रेस संगठन नेपाल चितवन शाखाका अध्यक्ष टीकादत्त तिमिल्सिना र जनपत्रकार संगठन नेपाल चितवन शाखाका अध्यक्ष होमनाथ न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अराजकतालाई प्रोत्साहन गर्ने प्रहरी र आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन् ।
यो घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।