रत्ननगर–१६ लाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

केशव

असार १, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१६ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । आइतबार एक समारोहबीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुखअतिथि नगरउपप्रमुख यादवप्रसाद पाठकले सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरेका हुन् । सो अवसरमा नगरउपप्रमुख पाठकले नेपालको संविधानको मर्मअनुसार कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा नगरपालिकामा लागू गरिएको बताए ।

उनले पालिकाभित्रका अन्य वडाहरुमा पनि क्रमशः अभियान सञ्चालन गरी नगरपालिकालाई नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने बताए । घोषणापश्चात् पनि यस कार्यको सामूहिक जिम्मेवारी नलिए कार्यक्रम सफल हुन नसक्ने उनको भनाइ थियो ।

रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले वडाभित्र बसोवास गर्दै आएका ४ वर्षदेखि १३ वर्षका कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाइएकाले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताए ।

रत्ननगर–१६ मा रहेको पिठुवा सिकाइ केन्द्रले संकलन गरेको ४ वर्षदेखि १३ वर्षसम्मका बालबालिकाको वैयक्तिक विवरणमा कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाइएपछि वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।

पिठुवा सिकाइ केन्द्रका अध्यक्ष नेत्र घिमिरेका अनुसार गत फागुनमा केन्द्रका पाँचजना तथ्याङ्क संकलकले वडाभित्र रहेका झन्डै २२ सय घरधुरीमा पुगेर विस्तृत तथ्याङ्क संकलन गरेका थिए । सो तथ्याङ्कमा वडाभित्रका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको पाइएपछि वडा समितिको निर्णय र वडाध्यक्ष थापाको प्रस्तावमा वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।

कार्यक्रममा नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ कार्यक्रमको मह¤व र चुनौतीबारे प्रकाश पारेका थिए । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ तथा बागमती प्रदेशको नीति कार्यक्रममा व्यवस्था भएअनुसार विसं २०८५ सालभित्र आधारभूत तहको शिक्षा लिएको प्रमाणपत्र नभएको व्यक्तिले सरकारी सेवा लिन नपाउने व्यवस्था रहेको उनले बताए । यदि कुनै बालबालिका विद्यालय बाहिर रहेको फेला परेमा नगरपालिकाको खर्चमा त्यस्ता बालबालिकाको नियमित अध्ययन–अध्यापनको व्यवस्था गरिने उनले जानकारी दिए ।

कार्यक्रममा रत्ननगर–१६ का जनप्रतिनिधि, रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेल, रत्ननगर–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, छात्रछात्रा, सामाजिक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अबदेखि कुनै पनि बालबालिका विद्यालय बाहिर रहन नपाउने, विद्यालय जाने उमेर पुगेका सबैलाई विद्यालय भर्ना गरिनुपर्ने र उनीहरूको निरन्तर उपस्थितिमा समुदायको जिम्मेवारी रहने वडाका कर्मचारी उज्ज्वल देवकोटाले बताए ।