रत्ननगर–१४ मा नसर्ने तथा क्यान्सर रोगबारे सचेतना कार्यक्रम

केशव

असार १३, २०८२

share this:

रत्ननगर । रत्ननगर–१४ मा नसर्ने रोग तथा क्यान्सर रोगबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था चितवन र रत्ननगर–१४ वडा कार्यालयको समन्वय तथा जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

रत्ननगर–१४ को सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, टोलविकास संस्था, आमा समूह, महिला समूह, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था चितवनका अध्यक्ष सङ्गीता भट्टराई, कांग्रेस राज्य प्रशासन विभागकी सदस्य गीता देवकोटा, वडा सदस्यहरु सानु भण्डारी, धीरेन्द्रप्रसाद घिमिरे, रमेश थापामगर, नगर स्वास्थ्यकेन्द्र डुम्रीचोकका इन्चार्ज भेषकुमारी न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. कृष्णप्रसाद सुवेदी र नसर्ने रोग कार्यक्रम अधिकृत गुरुप्रसाद कँडेलले प्रशिक्षण दिएका थिए । सो अवसरमा हरेक तीनमध्ये दुई जनाको मृत्यु नसर्ने रोगका कारण भइरहेको र लुकेर रहेका रोगको समयमै पहिचान गर्न सकिए मृत्युदर कम गर्न सकिने बताइएको थियो ।

जनस्वास्थ्य कार्यालय चितवनका नसर्ने कार्यक्रम प्रमुख गुरुप्रसाद कँडेलले चितवनका सबै पालिकामा नसर्ने रोगहरु र क्यान्सर रोगबारे सचेतना कार्यक्रम गर्दै आएको जानकारी दिँदै नसर्ने रोगहरुको बारेमा समुदायकेन्द्रित सचेतना कार्यक्रममार्फत समयमै रोगको पहिचान गरी उपचारको दायरामा ल्याउन सहज भएको बताए ।

रत्ननगर–१२ का कार्यवाहक वडाध्यक्ष चमेलीदेवी परियारको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति एवम् केन्द्रीय सदस्य हरिप्रसाद पौडेल, नेपाली कांग्रेस रत्ननगर नगरसमितिका कार्यवाहक सभापति कमलनाथ अधिकारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव वासुदेव रिजालले सञ्चालन गरेका थिए ।