चितवनका सातै पालिकामा लागूऔषध निस्तेज पार्ने महाअभियान सुरू

केशव

बैशाख १५, २०८१

share this:

चितवन । लागूऔषधको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको चितवनलाई निस्तेज पार्ने अभियान सुरू भएको छ । जिल्लामा सबैभन्दा धेरै लागूऔषधको प्रयोगकर्ताको रुपमा युवा समूहहरु समावेश भएको तथ्याङ्क वृद्धि भएसँगै चितवन प्रशासनको नेतृत्वमा तीन महिने महाअभियान सुरू भएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन महिने महाअभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिका सार्वजनिक गरेकी हुन् । महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत महानगर निर्माणमा विकास निर्माणसँगै लागूऔषध नियन्त्रण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताइन् ।

उनले सडक मानवमुक्त पहिलो महानगरजस्तै लागूऔषध नियन्त्रणमा पनि देशको उदाहरणीय काम गर्नुपर्नेमा जोड दिइन् । अभियानमा महानगरपालिकाको तर्फबाट आवश्यक साथ सहयोग र सहकार्य हुने प्रमुख दाहालले प्रतिबद्धता व्यक्त गरिन् ।
विकृति विसंगतिरहित समाजको निर्माण, युवा वर्गलाई लागूऔषधको दलदलबाट बाहिर ल्याई लागूऔषधमुक्त समाजको निर्माण गर्नका लागि अभियान प्रभावकारी हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताए ।

जिल्लाका सातवटै स्थानीय सरकारले तीन महिने अभियानका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भूषालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

पछिल्ला वर्षहरुमा लागूऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछि जिल्लामा नै पहिलोपटक सातवटै पालिकालाई लक्षितगरी लागूऔषधविरुद्धको महाअभियान सुरू गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । ‘चितवन अदृश्य तबरले लागूऔषधको ट्रान्जिट प्वाइन्ट देखियो’, प्रजिअ थापाले भने, ‘चितवनकै सातवटै स्थानीय तहको टोल–टोल, वडा–वडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप सचेतनामूलक कार्यक्रम हुनेछ ।’

महाअभियानअन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ गर्ने उनले बताए । लागूऔषध जरैदेखि निर्मूल पार्नका लागि चितवन प्रशासन आफैँ एक्सनमा उत्रिन लागेको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा सिडियो थापाले लागूऔषधको कारोबारीलाई शून्य सहनशीलताको नीति अपनाई कारबाही गर्ने र लागूऔषधको सेवनकर्तालाई परिवारमा पुनःस्थापना समत गर्न यो अभियानले ठोस योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

‘भावी दिनमा लागूऔषधको थप भयाभह अवस्थाबाट जोगिन हामीले समयमै महाअभियान सुरू गर्न लागेका हौँ,’ प्रजिअ थापाले भने, ‘लागूऔषध नियन्त्रण एक निकायबाटमात्रै सम्भव नहुने भएकाले समाजका सबै सरोकारवालको प्रभावकारी समन्वयबाट हामीले महाअभियान सुरू गरेका हौँ ।’ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सहायक प्रजिअ चिरञ्जीवी शर्माले अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन चितवन प्रहरी प्रमुख ९एसपी० भावेश रिमालले अपिल गरे । ‘लागूऔषध नियन्त्रणका लागि अभियानकै रुपमा प्रहरी पनि नयाँ ढंगले परिचालन हुन्छ’, उनले भने, ‘सडक सुरक्षा र लागूऔषध नियन्त्रण गर्नेगरी अभियान हुनेछ ।

पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा १८ देखि २५ वर्ष उमेरका सबैभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको देखिएको छ । त्यस्तै २६ देखि ३५ वर्ष उमेरका ३५ प्रतिशत रहेका छन् । यसमध्ये सबैभन्दा बढी ६० प्रतिशत ज्याला मजदुरी गर्ने लागूऔषध सेवनकर्ता रहेका छन् । जिल्लामा लागूऔषध दुर्व्यसनीहरुको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ ।