वडा सचिवहरुका लागि पूर्वयोजना तर्जुमा गोष्ठी

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८२–०८३ को नीति, योजना तथा बजेट कार्यान्वयनका सन्दर्भमा पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिकाका १६ वटै वडाका सचिवहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले आर्थिक वर्ष २०८२–०८३ को नीति, योजना तथा बजेट निर्माणका लागि टोल बस्तीस्तरीय योजना तर्जुमा मार्गदर्शनबारे आफ्नो प्रस्तुति राखेका थिए । सो अवसरमा उनले वडा योजनाको छनोट प्राथमिकीकरण, बजेट तथा कार्यक्रम तर्जुमाका विषयमा आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत लम्सालले वडा योजनाको छनोट प्रक्रियामा विद्यालयका प्रधानाध्यापक, टोलविकास संस्थाका अध्यक्ष, महिला, फरक क्षमताका दलित, जनजाति, गैरसरकारी संस्थाआदि क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गर्नसमेत सुझाव दिए । उनले वडाका मागहरुको प्राथमिकीकरण गर्दा जिविस, नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृनिकाय, प्रदेश वा केन्द्रमा अनुरोध गर्ने किसिमका योजनाहरु विषय क्षेत्र छुट्याएर प्रस्ताव गर्न आग्रह गरे ।
प्रशासन शाखा प्रमुख सबिता अर्यालले सहजीकरण गरेको कार्यक्रममा योजना शाखा प्रमुख रमेशलाल ताम्राकार र लेखा अधिकृत खडानन्द घिमिरेले वडाध्यक्ष सम्मिलित टोलस्तरीय योजना तर्जुमा तथा सुझावहरु नदोहोरिने र नछुट्ने गरी मागहरु सङ्कलन गर्न सुझाव दिएका थिए ।