वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

केशव

जेष्ठ २३, २०८१

share this:

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेशराज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका(४ घर भई काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।

पक्राउमध्ये रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश राजलाई काठमाडौँ आलोकनगरबाट, राजुलाई काठमाडौँ नागपोखरीबाट र युवराजलाई काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको जनाएको छ ।