उवासंघ–चितवनका सदस्यलाई मौलाकाली केबुलकारमा छूट
भरतपुर । उद्योग वाणिज्य संघ–चितवनका उद्योगी–व्यवसायीहरुले मौलाकालिका मन्दिर दर्शन गर्न जाँदा केबुलकारको टिकटमा छूट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यहरुलाई केवुलकारमा छूट दिनेसम्बन्धी मौलाकालिका केबुलकार लिमिटेड र उद्योग वाणिज्य संघ–चितवनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्वअन्र्तगत रहेर संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छूट दिने व्यवस्था गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । उनले अन्य सेवा उपलब्ध गराउने संस्थाहरुसँग पनि छूट गराउन पहल गरिरहेको बताए ।
केबुलकारको छूटमा टिकट खरिद गर्नको लागि मौलाकाली केबुलकारको कार्यालय वा काउन्टरबाट टिकट खरिद गर्न सकिने छ ।
नवलपुरको गैँडाकोटस्थित सञ्चालित मौलाकाली केबुलकारको टिकट खरिदमा उद्योग वाणिज्य संघ–चितवनका सदस्यले २० प्रतिशत छूट पाउने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराए । उनले सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराएको सदस्यता परिचयपत्र देखाउनु पर्नेछ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने छ ।
सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, कार्यकारी निर्देशक निलबहादुर केसी र मौलाकाली केबुलकार लिमिटेडका प्रबन्धक सुरज पौडेल र कमलराज ढकालको सहभागिता रहेको थियो ।