सिमलताल दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
चितवन । चितवनको सिमलताल पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुबारे अध्ययन गर्न गठित कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।
मंगलबार दिउँसो साढे १ः०० बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।
गत असार २८ गते नारायण-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
दुई बसमा ६५ यात्रु सवार थिए । तीन जनाले आफैँ ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो । अझै दुई बस र बसमा सवार ३८ यात्रुको अवस्था अज्ञात रहेको छ ।