गैसस महासंघ नेपालको १७ बुँदे चितवन घोषणापत्र जारी

केशव

साउन २६, २०८१

share this:

भरतपुर । गैसस महासंघ नेपालले देश र आम नागरिकले भोग्नुपरेका अवस्थाहरुलाई मध्यनजर गर्दै चितवनस्तरीय नागरिक सम्मेलन–२०८१ बाट १७ बुँदे चितवन घोषणापत्र जारी गरेको छ ।

राज्यले प्रतिबद्धता गरेको दिगो विकास लक्ष्यको कार्यान्वयनलाई अझ बढी व्यावहारिक तथा प्रभावकारी बनाउँदै स्थानीयकरण गर्न, एउटै कार्यालयबाट न्यूनतम शुल्कमा छिटोछरितो दर्ता/नवीकरण हुने व्यवस्था गर्न, बजार भाउ नियन्त्रण गर्न, नागरिकको मौलिक हक कुण्ठित गर्ने खालका नीतिनियम तथा कार्यक्रमको प्रक्रियालाई सुधार गर्नेलगायतका नागरिकका हकअधिकार सुनिश्चित गराउने बुँदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।

गैसस महासंघ नेपाल नेपालका ७७वटै जिल्लामा सञ्जाल भएको सबैभन्दा ठूलो सामाजिक संस्थाको छाता संगठन हो । यो संस्था पालिकास्तरमा पनि सञ्जाल निर्माणको प्रक्रियामा रहेको छ । गैरसरकारी संस्था महासंघ नेपालको इतिहास हेर्दा २०४८ सालमा चितवन जिल्लाका संस्थाहरुको सक्रियतामा गैसस महासंघको जन्म भएको थियो । बिभिन्न काल खण्डमा भएका राजनीतिक परिवर्तनमा गैससहरुको मह¤वपूर्ण भूमिका रहेको छ ।

जनताका अधिकार र सुरक्षाका सवालमा गैसस सधैँ अगाडि रहेर आवाज उठाइरहेको छ । राज्य सञ्चालनको विद्यमान अवस्थामा आइपुग्दा देश र आम नागरिकहरुले भोग्नु परेको अवस्थाहरुलाई मध्यनजर गर्दै नागरिक आवाजविहीनको स्थितिलाई सम्बोधन गर्न चितवन जिल्लाका गैरसरकारी संस्थामा आवद्ध नागरिक अगुवाहरुको उपस्थितिमा घोषणा पत्र २०८१ जारी गरिएको हो ।