खैरहनी नगरपालिकाले घटायो एक करोड १० लाख प्रशासनिक खर्च

केशव

पुस १९, २०८१

share this:

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को आम्दानी र खर्चको समीक्षा गर्दै चालू खर्चको बजेट संशोधनसहित पारित गरेको छ । शुक्रबार सम्पन्न सोह्रौँ नगरसभाले चालू खर्चतर्फ एक करोड दस लाख रुपैयाँ बजेट घटाएको हो ।

नगरप्रमुख शशिकुमार खनियाले चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा विनियोजन गरिएको र विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरवासीको जनआकांक्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती गरिएको जानकारी दिए ।

खैरहनी नगरसभाको १५ औँ अधिवेशनबाट स्वीकृत नीति तथा कार्यक्रममा विनियोजित बजेटहरुमा, कुनै योजना तथा कार्यक्रममा आर्थिक कार्यविधिअनुसार कार्यान्वयन गर्न समय लाग्ने, कुनै बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकम कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको तथा केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकोले विनियोजन ऐन २०८१ संसोधन गर्ने विधेयक सभामा प्रस्तुत भएको नगर प्रमुख खनियाले बताए ।

चालू आवको असार महिनामा सम्पन्न पन्ध्रौँ नगरसभाले चालु खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च र विषयगत चालू कार्यक्रमको व्यय अनुमान रु २५ करोड ९९ लाख विनियोजन गरेकोमा सोह्रौँ नगरसभाले सो अनुमानित बजेट घटाएर रु २४ करोड ८९ लाख कायम गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताइन् ।

नगरसभाबाट पारित भएका महत्त्वपूर्ण निर्णयको जानकारी गराउँदै नगरप्रमुख खनियाले खैरहनी नगर वाङ्मय परिषद् विधेयक २०८१ र सार्वजनिक निजी साझेदारी विधेयक २०८१ पारित गर्ने निर्णय भएको बताएका छन् ।