नारायणगढमा ‘क्याम्पाचौर फुड फेस्टिबल’ सुरू

भरतपुर । चितवनको नारायणगढमा क्याम्पाचौर फुड फेस्बिटल सुरू भएको छ । १५ औँ संस्करणको चितवन महोत्सवअन्तर्गत नै चितवन महोत्सव र नेवा पुचः नारायणगढको आयोजनामा फुड फेस्टिबल सुरू भएको हो ।
फुड फेस्टिबलको सोमबार साँझ भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । फेस्टिबल माघको ७ गतेसम्म चल्ने छ । चितवन महोत्सवको अवसर पारेर सधैँ फुड फेस्टिबल गर्ने गरिएको छ ।
नेवा पुचः नारायणगढका द्वितीय उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले चितवनका पर्यटकीय गन्तव्यमा आएका आन्तरिक तथा बाह्य पर्यटकसहित चितवन महोत्सव घुम्न आउनेहरुलाई लक्षित गरी फुड फेस्टिबल सुरू गरिएको बताए ।
फेस्टिबलमा विभिन्न होटल तथा रेस्टुरेन्टहरुले विभिन्न खानाका परिकार बनाएर फेस्टिबलमा आउनेहरुलाई खुवाउने छन् । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रियस्तरका खानाको परिकारहरु फुड फेस्टिबलमा उपलब्ध गराइने श्रेष्ठको भनाइ छ ।
फुड फेष्टिबल हुने क्षेत्रमा विभिन्न आर्कषक झिलिमिलि बत्तीहरुसहित सजाइएको छ । फुड फेस्टिबलमा दैनिक सांस्कृतिक कार्यक्रमसमेत हुने श्रेष्ठले जानकारी दिए । फुड फेस्टिबलमा दुई दर्जनभन्दा बढी स्टल रहेका छन् भने स्टल थपिन क्रम जारी छ ।
फेस्बिटलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्टिबल बिहान ८ः०० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने छ ।