मुद्दतीमा झन्डै दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ९१ करोडभन्दा बढी रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैङ्कले क वर्गका वाणिज्य बैङ्कहरूमा एक अर्ब ५२ करोड ८९ लाख, विकास बैङ्कहरूमा २८ करोड ६६ लाख र फाइनान्स कम्पनीहरूमा नौ करोड ५५ लाख रुपियाँ गरी कुल एक अर्ब ९१ करोड १० लाख रुपियाँ लगानी गर्न लागेको छ ।
राष्ट्र बैङ्कले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म ३६६ दिनका लागि बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दतीमा उक्त रकम राख्न लागेको हो ।
मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्थाहरूले चैत ८ गते बिहीबार रातिसम्म निक्षेपका रूपमा लिन चाहेको रकम खुलाई ब्याजदरसम्बन्धी प्रस्ताव पेस गर्न राष्ट्र बैङ्कले आह्वान गरेको छ ।
मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पुँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैङ्क तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।
निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने तथा तोकिएको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने सर्त राष्ट्र बैङ्कले राखेको छ ।
यस्तै मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बिस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने सर्त छ भने राष्ट्र बैङ्कको सर्त रहेको छ ।
कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्तहरू राष्ट्र बैङ्कले राखेको छ ।